लोड हुँदैछ...

मेनु

मोरङ-६ को मुहार फेर्ने ओपेन्द्रकुमार रायको संकल्प : पूर्वाधार विकास र जनजीविकालाई मुख्य प्राथमिकता

मोरङ-६ को मुहार फेर्ने ओपेन्द्रकुमार रायको संकल्प : पूर्वाधार विकास र जनजीविकालाई मुख्य प्राथमिकता

विराटनगर । आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ओपेन्द्रकुमार रायले आफ्नो क्षेत्रको सर्वाङ्गीण विकासका लागि महत्वाकांक्षी तर व्यावहारिक प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । “सुशासन, रोजगारी र समाजवादको तयारी” लाई मुख्य नारा बनाएका रायले आफ्नो प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्नुभएको छ ।

मजदुर नेताका रूपमा पहिचान बनाएका रायले आफ्नो प्रतिबद्धता पत्रमा व्यक्तिगत सम्पत्ति विवरण समेत सार्वजनिक गर्दै राजनीतिक पारदर्शिताको नयाँ अभ्यास सुरु गर्नुभएको छ । उहाँले आफूलाई ‘सदनमा मोरङको आवाज र सिंहदरबारको बजेटलाई जोड्ने पुल’ का रूपमा प्रस्तुत गर्नुभएको छ ।

पूर्वाधार र नदी नियन्त्रणमा जोड
रायको प्रतिबद्धता पत्रमा अलपत्र अवस्थामा रहेको विराटनगर रिङरोड निर्माण कार्यलाई प्राथमिकताका साथ पूरा गर्ने उल्लेख छ । यस्तै, रानी-विराटनगर बाइपास (नहर) सडक कालोपत्रे गर्ने र सवारी चाप व्यवस्थापन गर्ने योजना उहाँले अघि सार्नुभएको छ । मोरङ ६ को मुख्य समस्याका रूपमा रहेको डुबान नियन्त्रणका लागि सिघिया, बुढी, केशलिया र गछिया खोलामा स्थायी तटबन्ध निर्माण गरी बस्ती संरक्षण गर्ने र ‘खोला करिडोर’ निर्माण गर्ने विषयलाई उहाँले प्राथमिकता दिनुभएको छ ।

‘पढ्दै कमाउँदै’ र स्वास्थ्य सुधार
शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि रायले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वास्थ्य सेवातर्फ कोशी अस्पताललाई मेडिकल कलेजका रूपमा स्तरोन्नति गर्ने र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा ल्याउन पहल गर्ने उहाँको योजना छ । विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र प्रत्येक घरमा शुद्ध खानेपानी पुर्‍याउने विषयलाई पनि उहाँले समेट्नुभएको छ ।

कृषि र युवा स्वरोजगारको नयाँ मोडल
जनजीविकाको सवालमा रायले किसानका लागि आवश्यक मल, बीउ र तालिम सहकारीमार्फत सहज उपलब्ध गराउने र उत्पादनको लागतका आधारमा समर्थन मूल्य तोक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बेरोजगार युवाहरूका लागि ‘स्किम बैंक’ तयार गरी स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने र सूचना प्रविधिमा आधारित स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उहाँको योजना छ । यस्तै, श्रमिकहरूका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य गराउने विषयलाई उहाँले विशेष महत्व दिनुभएको छ ।

पहिचान र पर्यटन प्रवर्द्धन
थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा कला-संस्कृतिको संरक्षणका लागि ‘सामुदायिक होमस्टे’ प्रवद्र्धन गर्ने र ग्रामथान जस्ता धार्मिक स्थलहरूको कानुनी समस्या समाधान गरी विकास गर्ने रायको योजना छ । हसिना सिमसारलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने र बुढीखोला चिप्लेटो झरनालाई व्यवस्थित गर्ने योजनाले स्थानीय पर्यटनमा टेवा पुग्ने देखिन्छ ।

आफ्नो प्रतिबद्धता पत्रको निष्कर्षमा रायले भन्नुभएको छ, “म भ्रष्टाचारमा डुबेको पुराना शक्तिहरूमाथिको प्रहार र नयाँ पुस्ताको भावनाको सम्मान हुन आएको हुँ । म सत्ताको महलमा हराउने प्रतिनिधि होइन, तपाईंकै खेतबारी र टोलमा भेटिने साथी हुनेछु ।”

आम नागरिकको दैनिक समस्या र क्षेत्रको दीर्घकालीन विकासलाई सन्तुलित ढंगले समेटिएको रायको यो प्रतिबद्धता पत्रले अहिले मोरङ ६ का मतदाताबीच सकारात्मक चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।