रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिका क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्यु आइतबार बिहान केही समयका लागि खुकुलो पारेको छ। सर्वसाधारणलाई अत्यावश्यक कामकाज र खाद्यान्न खरिदका लागि बिहान ६:३० देखि ८:३० बजेसम्म कर्फ्युखुकुलो पारिएको हो।
प्रशासनका अनुसार बिहान साढे ८ बजेपछि भने कफ्र्यु आदेश पुनः निरन्तर रहनेछ। सो अवधिपश्चात् कसैलाई पनि घरबाहिर निस्कन, हिँडडुल गर्न, भेला हुन वा प्रदर्शन गर्न पूर्ण रोक लगाइएको छ।
दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि शान्ति सुरक्षा कायम गर्न शनिबारदेखि प्रशासनले गौरमा अनिश्चितकालीन कफ्र्यु जारी गरेको थियो। पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई कर्फ्युको सीमा तोकिएको छ।
गत बिहीबार राति दुई पक्षबीच सुरु भएको विवादले शुक्रबार झडप र ढुंगामुढाको रूप लिएपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले कडा सुरक्षा सतर्कता अपनाउँदै कर्फ्यु आदेश जारी गरेको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।