धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–७ का वडा अध्यक्षले एक महिलासँगको अवैध सम्बन्धले बच्चा जन्मिएको स्वीकार गरेका छन् । राष्ट्रिय महिला अधिकारकर्मी तथा मोरङ जिल्ला सचिव दीपा विश्वकर्मासँग भएको टेलिफोन संवादमा एमालेबाट निर्वार्चित वडाअध्यक्ष बमबहादुर राईले उक्त शिशु आफ्नो भएको स्वीकार गरेको अडियो सार्वजनिक भएको हो । वडाअध्यक्ष राई र सोही वडाकी पन्तसँग विवाह गरेकी एक महिलाको सम्बन्धबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बच्चा जन्मिएको टेलिफोन संवाद फेला परेको हो । टेलिफोन संवादमा महिला अधिकारकर्मी विश्वकर्माले शिशुको कानुनी अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै पितृत्वको औपचारिक स्वीकृति र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी थिइन् । जवाफमा वडाध्यक्षले शिशुको जिम्मेवारी लिने, उपचार खर्च व्यहोर्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
वडा अध्यक्ष राई र ती महिला फरक फरक व्यक्तिसँग विवाहित रहेको टेलिफोन संवादमा सुनिएको छ । यस कारण सामाजिक तथा कानुनी जटिलता उत्पन्न हुन सक्ने विषयमा पनि संवादमा चर्चा भएको थियो । महिला अधिकारकर्मीले शिशुले आफ्नो अधिकार पाउनुपर्ने भन्दै आवश्यक परे कानुनी प्रक्रियामा जान सकिने बताएकी छन् । वडा अध्यक्ष राईले भने “बच्चा मेरो नै हो, म जिम्मेवारी लिन्छु” भन्दै उपचार र हेरचाह भइरहेको टेलिफोनमा दाबी गरेका छन् ।
एमालेबाट हाल प्रतिनिधी सभाका उम्मेदवार रहेका राजेन्द्र राईको पक्षमा रहेका वडाध्यक्षले गरेको यो किसिमको हर्कतलाई लुकाउन स्वयं राजेन्द्र राई लागिपरेको खुलेको छ । राजेन्द्र राईले आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा प्रस्तावित गरेका वडा अध्यक्ष राईको यो कार्यले गाउँपालिकामा संसय पैदा भएको छ भने धनकुटामा काण्ड लुकाउन एमाले उम्मेदवार तथा पूर्वमन्त्री लागि पर्दा समस्या पैदा भएको अधिकारकर्मीहरुले बताएका छन् । उम्मेदवार राई नै यस्ता काममा संलग्न भएकोले अरुलाई जोगाउन कुनै हिच्किचाहट लाग्ने गरेको अधिकारकर्मीहरुको भनाइ छ ।
यस विषयमा बुझ्दा राईले भेटेर कुरा गर्ने भन्दै फोन काटेका छन् । उनले सबै कुरा मिलाउने बताएका छन् । यसअघि सहिदभूमि गाउँपालिकाकै वडा नं. ५ का वडाध्यक्ष सन्तोष राई पनि बलात्कार मुद्दामा कारागार चलान भइसकेका छन् । वडा नं. ५ वडाध्यक्ष नेपाली कांग्रेशबाट निर्वाचित भएका हुन् । स्थानीय तहका जनप्रतिनिधिको व्यक्तिगत आचरण र सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको सरोकारवालाले बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।