काठमाडौं । ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा संघीय राजधानी काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक विशेष समारोहको आयोजना गरियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा विशिष्ट व्यक्तित्वहरूको समेत बाक्लो सहभागिता थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्च पास्ट गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए । सेनाको हेलिकोप्टरबाट ुप्रजातन्त्र दिवस–२०८२ अंकित ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।
वि.सं. २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । टुँडिखेलमा आयोजित समारोहले प्रजातन्त्रको महत्त्व र यसका लागि वीर सहिदहरूले गरेको योगदानको स्मरण गराएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावासहरूमा पनि विभिन्न कार्यक्रम गरी दीपावली मनाउने र राष्ट्रिय झण्डा फहराउने कार्य भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।