विराटनगर । भारत र श्रीलंकामा जारी टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले पराजित गर्दै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेलअगावै सुपर एटको यात्रा तय गरेको हो ।
लगातार तीन हार बेहोरेको नेपाल भने एक खेलअगावै सुपर एटको दौडबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो ।
आइतबारको खेलमा १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ६१ रन जोड्दै अविजित रहे । शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।
नेपालका तर्फबाट एक मात्र विकेट नन्दन यादवले लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ५८ रनको अर्धशतकीय पारी खेल्दै नेपालको योगफल उकासेका थिए । टी–२० विश्वकपमा अर्धशतक बनाउने उनी दोस्रो नेपाली खेलाडी बने । यसअघि सुवास खकुरेलले सन् २०१४ को टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए । सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ तथा गुलशन झाले ११ रन जोडे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान १–१ विकेट लिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।