लोड हुँदैछ...

मेनु

वेस्ट इन्डिजविरुद्ध नेपालले १३४ रनको लक्ष्य प्रस्तुत

वेस्ट इन्डिजविरुद्ध नेपालले १३४ रनको लक्ष्य प्रस्तुत

विराटनगर । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजmलाई १३४ रनको लक्ष्य दिएको छ।

मुम्बईस्थित स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनायो।

नेपालको सुरुवात अत्यन्त कमजोर रह्यो। पावर प्लेमै ३ विकेट गुमाउँदै टोलीले ६ ओभरमा जम्मा २२ रन मात्र जोड्न सक्यो, जुन टी–२० विश्वकपमा नेपालको सबैभन्दा कम पावर प्ले स्कोर हो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै अकिल होसेनबाट बोल्ड भए। त्यसपछि रोहित पौडेल ५, आसिफ शेख ११, आरो शेख २ र लोकेश बम १३ रनमा आउट हुँदा नेपाल ४६ रनमै ५ विकेट गुमाएर दबाबमा परेको थियो।

यस्तो अवस्थामा उपकप्तान दीपेन्द्र सिंह ऐरीले संयमित इनिङ्स खेले। उनले ४७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए। १९औँ ओभरमा शामर जोसेफलाई छक्का प्रहार गर्दै उनले ४४ बलमा अर्धशतक पूरा गरे। टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ मा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।

दीपेन्द्रले सातौँ विकेटका लागि सोमपाल कामीसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरे, जुन नेपालको इनिङ्सकै उच्च साझेदारी रह्यो। सोमपालले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोडे। छैटौँ विकेटका लागि गुल्सन झासँग दीपेन्द्रले २७ रनको अर्को उपयोगी साझेदारी गरेका थिए। यी दुई साझेदारीकै आधारमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सफल भयो।

वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले समान १–१ विकेट लिए।

खेलसँगै सोमपाल कामी नेपालका लागि तीन वटा टी–२० विश्वकप खेल्ने पहिलो र एकमात्र खेलाडी बने। उनले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट डेब्यु गरेका थिए र त्यसयता नेपालले खेलेका तीनै संस्करणमा सहभागी भएका छन्। टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल खेल्ने कीर्तिमान पनि उनको नाममा छ।

समूह चरणमा यसअघि इंग्ल्याण्ड र इटालीसँग पराजित भइसकेको नेपालका लागि सुपर एटको सम्भावना कायम राख्न यो खेल निर्णायक बनेको छ। यदि आजको खेलमा पराजित भए नेपाल अन्तिम खेलअघि नै सुपर एटको होडबाट बाहिरिनेछ।

अब सबै ध्यान नेपाली बलिङतर्फ केन्द्रित हुनेछ—१३३ रनको लक्ष्य रक्षा गर्दै नेपालले ऐतिहासिक जित निकाल्न सक्छ वा सक्दैन भन्ने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।