काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज भइरहेको वेस्ट इन्डिजविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा भएको टसमा वेस्ट इन्डिजका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।
समूह ‘सी’ मा रहेको नेपालका लागि आजको खेल निकै चुनौतीपूर्ण र निर्णायक मानिएको छ। यसअघि खेलिएका दुई खेलमा पराजय भोगेको नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, वेस्ट इन्डिजले आफ्ना सुरुवाती दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेर उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ।
आजको खेलमा नेपाली टोलीमा एउटा महत्त्वपूर्ण परिवर्तन गरिएको छ। सुरुवाती दुई खेलमा अवसर नपाएका अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई आजको प्लेइङ सेटमा समावेश गरिएको छ। मैदानमा उत्रिएसँगै सोमपालले एक दुर्लभ कीर्तिमान समेत बनाएका छन्। उनी लगातार तीनवटा टी–२० विश्वकप खेल्ने नेपालको पहिलो र एक्लो खेलाडी बनेका छन्।
पावरहाउस मानिने वेस्ट इन्डिजविरुद्ध नेपालले वानखेडेको पिचमा ठूलो स्कोर खडा गर्ने लक्ष्य लिएको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई रोक्न नेपालले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने देखिन्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।