लोड हुँदैछ...

मेनु

शिवरात्रीले धार्मिक पर्यटनमा सहयोग पुग्ने मुख्यमन्त्री कार्कीको विश्वास

शिवरात्रीले धार्मिक पर्यटनमा सहयोग पुग्ने मुख्यमन्त्री कार्कीको विश्वास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महाशिवरात्री पर्वले प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्। महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री कार्कीले महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गरे। आज शिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा शुभकामना जारी गर्दै उनले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना बढाउन प्रेरणा दिने विश्वास व्यक्त गरे।

आफ्नो सन्देशमा उनले यस पर्वले सम्पूर्ण नेपालीहरूमा एकता, सामाजिक सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्ने बताए। मौलिक परम्परा र चाडपर्वहरूले समाजलाई सांस्कृतिक रूपमा समृद्ध बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको उनले उल्लेख गरे। प्रदेश सरकारले वि.सं. २०८२ साललाई “कोशी पर्यटन वर्ष” घोषणा गरेको जानकारी दिँदै उनले मौलिक पर्व र राष्ट्रिय उत्सवहरूको संरक्षण र प्रवर्द्धनमा सरकारले जोड दिएको बताए।

प्रदेश सरकार स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र मौलिक पर्वहरूको संरक्षणमा क्रियाशील रहेको तथा विविधतायुक्त समाजका परम्परा र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको उनले सन्देशमा उल्लेख गरेका छन्।

त्यसैगरी मुख्यमन्त्री कार्कीले महाशिवरात्रिकै अवसरमा परेको नेपाली सेना दिवसको पनि शुभकामना व्यक्त गरेका छन्। नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता जोगाउन नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै उनले “समृद्ध नेपाल, सुखी नेपाली” निर्माणका लागि विकास र राष्ट्र निर्माणमा सेनाले गरिरहेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे।

राष्ट्र र जनताको सेवामा सधैं अग्रपङ्क्तिमा उभिने नेपाली सेनाको त्याग, समर्पण र अनुशासन सबैका लागि प्रेरणाको स्रोत भएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।