खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा तैनाथ नेपाली सेनाको इन्द्रदल गुल्मले देशभरकै सैन्य इकाइहरूमध्ये आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ। सैनिक अनुशासन, कार्यक्षमता र व्यावसायिकताको कडा प्रतिस्पर्धा ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता २०८२’ मा इन्द्रदल गुल्मले प्रथम स्थान हासिल गर्दै ‘सर्वोत्कृष्ट गुल्म’ को उपाधि चुमेको हो ।
गत साउनदेखि असोजसम्म सञ्चालित विभिन्न चरणका प्रतिस्पर्धा र मूल्याङ्कनमा अन्य सबै युद्धक गुल्महरूलाई पछि पार्दै इन्द्रदलले यो ऐतिहासिक सफलता हात पारेको हो। सेनाभित्र अत्यन्तै प्रतिष्ठित मानिने यो ब्यानर जित्नुलाई सम्बन्धित इकाइको उच्च रणकौशल र कमान्डको सफलताका रूपमा हेरिन्छ ।
नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सव तथा सेना दिवस २०८२ को विशेष समारोहका बीच राजधानीको सैनिक मञ्च टुँडिखेलमा इन्द्रदल गुल्मलाई पुरस्कृत गरियो । प्रधानसेनापति अशोकराज सिग्देलले गुल्मका सेनानी (मेजर) नवराज बस्नेतलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गर्नुभयो। माघ २९ गते आयोजित सेना दिवसको अन्तिम पूर्वाभ्यासका क्रममा यो सम्मान प्रदान गरिएको थियो ।
सङ्खुवासभा जस्तो पहाडी जिल्लामा रहेर पनि आफ्नो आन्तरिक तालिम, व्यवस्थापन र सैन्य मापदण्डमा अब्बल देखिनुले इन्द्रदल गुल्मको टिमवर्क र नेतृत्वलाई उजागर गरेको छ। यस सफलताले सङ्खुवासभावासीमा समेत खुसी र गर्वको सञ्चार गराएको छ।
हरेक वर्ष महाशिवरात्रिका दिन सेनाले आफ्नो स्थापना दिवस मनाउने क्रममा उत्कृष्ट प्रदर्शन गर्ने गण र गुल्महरूलाई पुरस्कृत गर्ने परम्परा छ, जसमा यस वर्ष इन्द्रदल गुल्मले बाजी मार्न सफल भयो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।