धरान । माघ २२ गतेदेखि सञ्चालन भइरहेको २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताले आज नयाँ च्याम्पियन पाउनेछ ।
धरान–१६ स्थित रंगशालामा शनिबार अपरान्ह हुने फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेडबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यो वर्षको प्रतियोगिताले इतिहास दोहोर्याउने भन्दा पनि नयाँ कथा लेख्ने संकेत देखाएको छ। दुवै टोली अहिलेसम्म बुढासुब्बा गोल्डकपको उपाधि उचाल्न सकेका छैनन्। त्यसैले शनिबारको खेल केवल फाइनल मात्र नभई दुवैका लागि अवसर र चुनौतीको संगम बन्नेछ।
पहिलो पटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेडले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। सेमीफाइनलमा पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ ले पराजित गर्दै टोलीले उपाधि नजिकको यात्रा तय गरेको थियो। प्रतियोगिताको सुरुआतमै डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराएपछि टोलीको मनोबल अझै उच्च बनेको देखिन्छ।
शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक सन्जित सिंहले पहिलो सहभागितामै फाइनल पुग्नु टिमका लागि गौरवको विषय भएको बताए। उनले युवा खेलाडीहरूको ऊर्जा, एकता र समर्पण टोलीको बलियो पक्ष रहेको उल्लेख गरे। सेमीफाइनलमा पापा इबाउ केबेले रातो कार्ड पाएपछि फाइनल गुमाउनु टोलीका लागि क्षति भए पनि बाँकी खेलाडीहरू जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो। कप्तान फागुराम थारुले केही खेलाडी चोटग्रस्त भए पनि रणनीतिक रूपमा परिपक्व खेल प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।
अर्कोतर्फ, चर्च ब्वाइज युनाइटेडका लागि यो फाइनल विशेष अर्थ बोकेको छ। गत संस्करणमा फाइनलसम्म पुगेर एनआरटीसँग पराजित भएपछि टोली उपाधिबाट वञ्चित भएको थियो। त्यसैले यसपटक टोली उपाधि जित्दै अघिल्लो वर्षको निराशा मेट्ने योजनामा छ।
यो संस्करणको सेमीफाइनलमा झापा ११ लाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै चर्च ब्वाइजले निर्णायक चरणमा प्रवेश गरेको हो। प्रशिक्षक सुमन श्रेष्ठले टोली सन्तुलित लयमा रहेको र केही खेलाडी घाइते भएपनि समग्र टिम संयोजन बलियो रहेको बताए। एउटै क्लबबाट झापा र बुढासुब्बा गोल्डकपमा सहभागी भएको चर्च ब्वाइज झापाबाट बाहिरिसकेकाले अब सम्पूर्ण ध्यान बुढासुब्बा गोल्डकपको उपाधिमा केन्द्रित भएको उनले स्पष्ट पारे। कप्तान मिलन राईले प्रतियोगिता लिगपछिको पहिलो महत्वपूर्ण अवसर भएकाले थप प्रेरणा मिलेको बताए।
दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले एकअर्कालाई राम्रोसँग चिनेकाले खेल रणनीतिक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। एन्फाले प्रतियोगिताको तालिका जुधाएकै कारण केही खेलाडीलाई धरान–पोखरा–बिर्तामोड दौडधुप गर्नुपरेको र त्यसले प्रदर्शनमा सामान्य असर पर्नसक्ने स्वीकारोक्ति दुवै पक्षको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।