लोड हुँदैछ...

मेनु

टी–२० विश्वकपमा जिम्बाब्वेको ऐतिहासिक जित,अस्ट्रेलिया २३ रनले स्तब्ध

टी–२० विश्वकपमा जिम्बाब्वेको ऐतिहासिक जित,अस्ट्रेलिया २३ रनले स्तब्ध

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको १९औँ खेलमा जिम्बाब्वेले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई २३ रनले पराजित गर्दै सनसनीपूर्ण नतिजा निकालेको छ। जिम्बाब्वेले दिएको १७० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया १९.३ ओभरमा १४६ रनमै समेटिएपछि जिम्बाब्वेले ऐतिहासिक जित दर्ता गरेको हो।

अस्ट्रेलियाका लागि म्याट रेनशाले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट बचाउन सकेनन्। यस्तै ग्लेन म्याक्सवेलले ३१ रन जोडे पनि अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन नसक्दा अस्ट्रेलिया लक्ष्यभन्दा २३ रन पछाडि नै अलआउट भयो।

अस्ट्रेलियालाई सस्तैमा समेट्न जिम्बाब्वेका बलर ब्लेसिङ मुजारबानीले घातक बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै ब्राड इभान्सले ३ विकेट लिए भने वेलिङटन मसाकदजा र रायन बुरीले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेका लागि ब्रायन बेनेटले ५६ बलमा अविजित ६४ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनलाई तादिवानेश मारुमानी र रायन बर्लले समान ३५–३५ रन बनाएर राम्रो साथ दिए। अन्त्यमा कप्तान सिकन्दर रजाले १३ बलमा विष्फोटक २५ रन जोड्दै टोलीको स्कोर १७० सम्म पुर्‍याएका थिए। अस्ट्रेलियाका तर्फबाट मार्कस स्टोइनिस र क्यामरुन ग्रिनले एक–एक विकेट लिएका थिए।

यो जितसँगै जिम्बाब्वेले १९ वर्षअघिको इतिहास दोहोर्‍याएको छ। यसअघि सन् २००७ को विश्वकपमा पनि जिम्बाब्वेले लिग चरणमा अस्ट्रेलियालाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।