धरान ।२६औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा एपि पावर चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको छ।
धरान–१६ स्थित रंगशालामा बिहीबार सम्पन्न दोस्रो सेमीफाइनलमा झापा ११ लाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो।
निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको तेस्रो मिनेटमै मिलन राईको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो भने १७औं मिनेटमा अबोयमी फकुल्नेले दोस्रो गोल थपे । पहिलो हाफको २८औं मिनेटमा अभिषेक लामाले आत्मघाती गोल गरेपछि झापाले खाता खोलेको थियो ।
दोस्रो हाफको २१औं मिनेटमा एरोन थापाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए। समय अभावका कारण अतिरिक्त समय नखेलाई सिधै टाइब्रेकरमा प्रवेश गरिएको थियो।
टाइब्रेकरमा झापाका एरोन थापाको पहिलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रमिजय गच्छदारले रोके। झापाका प्रशान्त लक्समको प्रहार मात्र गोलमा परिणत भयो भने राजेश दाहाल र गौरव धिमालको प्रहार पनि गच्छदारले बचाए।
चर्च ब्वाइजका सुमित श्रेष्ठको पहिलो प्रहार झापाका गोलकिपर मनोज गुरुङले रोके पनि एरिक बिष्ट, रोहन कार्की र सुदीप श्रेष्ठले गोल गर्दै टोलीलाई लगातार दोस्रो पटक फाइनलमा पुर्याए। अघिल्लो २५औं संस्करणमा पनि फाइनल पुगेको चर्च ब्वाइज एनआरटीसँग पराजित भएको थियो।
अब शनिबार हुने फाइनलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमीफाइनलमा प्लानिङ ब्वाइजले पोखराको लालीगुँरास एशोसिएशनलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।