विराटनगर । आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालको खराब प्रदर्शन जारी छ । बुधबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको आफ्नो दोस्रो खेलमा नेपाल डेब्युटान्ट टोली इटालीसँग १० विकेटको लज्जास्पद हार बेहोर्न पुगेको छ ।
नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । टी-२० विश्वकपको इतिहासमा नेपाल १० विकेटले पराजित भएको यो पहिलो पटक हो ।
मोस्का दाजुभाइको विष्फोटक ब्याटिङ
इटालीलाई ऐतिहासिक जित दिलाउन ओपनरद्वय एन्थोनी मोस्का र जस्टिन मोस्काले विष्फोटक ब्याटिङ गर्दै शतकीय साझेदारी गरे । उनीहरूले ६ ओभरको पावर प्लेमै ६८ रन जोडेर जितको आधार तय गरेका थिए । दुवै ब्याटरले ११औं ओभरमा सन्दीप लामिछानेलाई प्रहार गर्दै आ-आफ्नो अर्धशतक पूरा गरे ।
नेपालको फितलो ब्याटिङ
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा मात्र १२३ रनमा समेटिएको थियो । पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध सानदार ब्याटिङ गरेर प्रशंसा बटुलेको नेपाल इटालीका स्पिनरसामु भने निरीह देखियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपालले ठूलो स्कोर बनाउन सकेन । करण केसीले अविजित १८ र दीपेन्द्र सिंह ऐरीले १७ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । ओपनर कुशल भुर्तेल (५) र लोकेश बम (३) सस्तैमा आउट भए ।
इटालीको बलिङमा स्पिनर हावी
इटालीका बलरहरूले कसिलो बलिङ गर्दै नेपाली इनिङ्सलाई ध्वस्त पारे । विशेष गरी स्पिनरहरूले ६ विकेट लिए । लेगस्पिनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट चट्काए । त्यस्तै जेजे स्मट्स, अली हसन र जसप्रित अलीले १-१ विकेट लिए ।
नेपालको सुपर-८ सम्भावना कमजोर
समूह ‘सी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल पूर्व विजेता इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो । लगातार दुई हारसँगै अंकविहीन रहेको नेपालको सुपर-८ पुग्ने सम्भावना निकै कमजोर बनेको छ ।
अर्कोतर्फ, पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको इटालीले आफ्नो दोस्रो खेलमै विश्वकपमा पहिलो ऐतिहासिक जित दर्ता गरेको छ । नियमित कप्तान वायन म्याडसने घाइते भएपछि यो खेलमा ह्यारी मानेन्टीले इटालीको कप्तानी सम्हालेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।