लोड हुँदैछ...

मेनु

टी–२० विश्वकप क्रिकेट : आज नेपाल र इटाली भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

टी–२० विश्वकप क्रिकेट : आज नेपाल र इटाली भिड्दै, पहिलो जितको खोजीमा नेपाली टोली

काठमाडौँ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डसँग केवल ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल आजको खेलमा स्पष्ट जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ :१५ बजे सुरु हुनेछ।

इंग्ल्यान्डविरुद्धको उद्घाटन खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि जितको नजिक पुगेर रोकिएको थियो। १८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन जोडेको थियो। अन्तिम समयसम्म रोमान्चक बनेको उक्त खेलमा हार बेहोरे पनि नेपाली ब्याटर र बलरको प्रदर्शनले आज इटालीविरुद्धको खेलमा थप आत्मविश्वास जगाएको छ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपको १०औँ संस्करणमा नेपालले समूह चरणका आफ्ना सबै खेलहरू मुम्बईमै खेल्ने तालिका रहेको छ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमार्फत पहिलोपटक ऐतिहासिक पाइला टेकेको थियो। त्यसको १० वर्षपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि नेपालले दक्षिण अफ्रिका र बंगलादेश जस्ता बलिया टोलीहरूलाई कडा टक्कर दिएको थियो। विशेषगरी अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको नेपालले यसपटकको विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्दै अघिल्लो चरणको सम्भावना जीवित राख्न चाहन्छ।

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो तेस्रो विश्वकप सहभागिता हो। टोलीका अनुभवी खेलाडी सोमपाल कामी तीनपटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचिसकेका छन्। विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले आजको खेलपछि पूर्व विश्वविजेता वेस्ट इन्डिज र स्कटल्यान्डको सामना गर्नेछ। इटाली पहिलोपटक विश्वकप खेलिरहेको टोली भएकाले नेपालका लागि यो खेल ऐतिहासिक जित निकाल्ने सुवर्ण अवसरको रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।