लोड हुँदैछ...

मेनु

विश्वकपमा १२ वर्षपछि इटालीसँग पहिलो जीत निकाल्ने लक्ष्यमा नेपाल

विश्वकपमा १२ वर्षपछि इटालीसँग पहिलो जीत निकाल्ने लक्ष्यमा नेपाल

विराटनगर । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज नेपाली क्रिकेट प्रशंसकहरूको नजर मुम्बईतिर सोझिएको छ। विश्वविजेता इंग्ल्यान्डलाई स्तब्ध पार्नबाट चुकेको नेपाल आज (बिहीबार) तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी इटालीसँग मैदानमा उत्रिँदैछ। यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा सुरु हुनेछ।

आफ्नो पहिलो खेलमा विश्वकप विजेता इंग्ल्यान्डलाई निकै कठिन चुनौती दिएको नेपाल मात्र ४ रनको झिनो अन्तरले पराजित भएको थियो। १८५ रनको लक्ष्य पछ्याउँदा अन्तिम समयसम्म टिकेको नेपालले ६ विकेट गुमाएर १८० रन बनाएको थियो। हारका बावजुद नेपालको त्यो प्रदर्शनले विश्व क्रिकेटकै ध्यान खिचेको छ। आजको खेलमा नेपाल त्यही आत्मविश्वासलाई जीतमा बदल्ने दाउमा छ।

सन् २०२६ को यो विश्वकप इटालीका लागि पहिलो अनुभव हो। विश्वकपमा डेब्यु गरिरहेको इटाली अनुभवी नेपालका लागि नयाँ प्रतिद्वन्द्वी त हो नै, दुवै टोलीबीच अहिलेसम्म कुनै पनि आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल भएको छैन। इटालीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको भारी अन्तरले हार व्यहोरेको थियो। अंक तालिकामा खाता खोल्नका लागि पनि दुवै टोलीलाई आजको खेल उत्तिकै महत्त्वपूर्ण छ।

सन् २०१४ मा बंगलादेशबाट विश्वकप यात्रा सुरु गरेको नेपालले अफगानिस्तान जस्तो टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो। त्यसको ठ्याक्कै १० वर्षपछि सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकालाई हारको संघारमा पुर्‍याएर नेपालले आफ्नो स्तर प्रमाणित गरिसकेको छ। अहिलेको विश्वकपमा नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँगै समूह ‘सी’ मा रहेको छ।

नेपालले आज इटालीसँग भिडेपछि आगामी फागुन ३ गते पूर्व विश्वविजेता वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। आजको जीतले नेपालको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई जीवित राख्नेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।