लोड हुँदैछ...

मेनु

शेरधनजीको लोकप्रियता शेयर बजारजस्तो घट्दो छ, चुनाव म जित्छु : अजम्बर काङमाङ

शेरधनजीको लोकप्रियता शेयर बजारजस्तो घट्दो छ, चुनाव म जित्छु : अजम्बर काङमाङ

भोजपुरमा नेपाली कम्युनिष्ट पार्टीले नेता अजम्बर राई काङमाङलाई प्रतिनिधिसभा उम्मेदवारको रूपमा मैदानमा उतारेको छ । प्रखर वक्तासमेत रहेका काङमाङलाई सुदन किरातीले मैदान छाडेलगत्तै प्रचण्डले अघि सारेका छन् । टिकट हातमा थमाउँदै प्रचण्डले जितेर आएपछि राजकीय पद दिने वाचासहित भोजपुरेसामु मत दिन सार्वजनिक आव्हानसमेत गरे । एमालेमा लामो समय राजनीति गरेका काङमाङ अशोक राईले पार्टी छाड्दा उनीसँगै बाहिरिएका थिए । त्यसपछि माओवादी हुँदै उनी अहिले नेकपामा छन् ।भोजपुर टेम्केमैयुङ गाउँपालिका नागीका अजम्बर भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै युवा युवा संघको अध्यक्षसमेत बने । उनी भोजपुरबाट यसअघि दुईपटक चुनाव लडे पनि सफलता हात पार्न सकेनन् । एमाले सचिव शेरधन राईले यसअघि ३ पटक जितिसकेको भोजपुरमा अजम्बरले आफ्नो प्रतिस्पर्धा शेरधनसँगै हुने बताएका छन् । काङमाङसँग चुनावी तयारी, एजेण्डालगायतको विषयमा गरिएको कुराकानीको अंश ।

– अहिले चुनावी व्यस्तता कस्तो चल्दैछ ? कसरी प्रचारप्रसार गर्दै हुनुहुन्छ ?

– एकदम तीव्र गतिमा चलिरहेको छ । ८१ वडाको पहाडी भूगोल ठूलो, छरिएको बस्ती । निर्वाचनको अवधि सानो । हामी अत्यन्त सादगी र आचारसंहितालाई पालना गर्दै घरदैलोसम्म पुगेका छौँ । पहराजस्तो ट्रयाकमात्रै खुलेका बाटाहरूमा सेकेन्ड ह्याण्ड मोटरसाइकलबाट कुदिरहेका छौँ । जनताबाट तीव्र रूपमा सकारात्मक प्रतिक्रिया छ । सबभन्दा खुसीको खबर विभिन्न दलका मानिसले दल बदल नगर्ने, तर मत बदल गर्ने भनेर भव्य स्वागत गरिरहेका छन् ।

– तपाईंको पार्टी कमाण्डर प्रचण्डले टिकट थमाउँदै पनि भोजपुरबाट जितेर आउनु, म मन्त्री बनाउँछु भनेर वाचा बाँधिसक्नुभएको छ । उत्साहित हुनुहुन्छ होला ?

– एक थान मन्त्रीको लागि त उत्साहित छैन, तर मन्त्री हुनको निम्ति त पहिलो कुरा प्रतिनिधिसभाको सदस्य हुनुपर्ने एलिजिबिलिटी भन्छन् नि, त्यसको मापदण्ड पुग्नुपर्‍यो नि त ! त्यही मापदण्ड पुर्‍याउन प्रयत्नरत छु ।

– चुनावी परिणामको विश्लेषण कस्तो गर्नुभएको छ त अहिले ?
– जिल्ला समितिको बैठक बस्यौँ, प्रारम्भिक विश्लेषणमा हाम्रो अग्रता देखिएको छ, । त्यसको परीक्षण वास्तवमा यो सबै वडाहरूमा पुगेपछि हुन्छ । लगभग आधि जति पुग्दाखेरि त्यो विश्लेषण ठिकै भन्ने रहेको छ । त्यसलाई प्रमाणित हुने गरी बाँकी ठाउँमा पनि हाम्रो अग्रता कायम रहन्छ ।

– अनि कति जति ल्याउने, कति मतान्तरले जित्ने अनुमान गर्नुभएको छ त ?
– अन्य उम्मेदवार प्रतिस्पर्धी नै भएकोले मतहरू लगभग उस्तै–उस्तै ढंगले बाँडिने स्थिति छ । र, मतान्तरको त्यति धेरै फरक नपर्ला । १५०० देखि २००० को बीचमा मतान्तर रहने स्थिति होला । अहिलेको सन्दर्भमा १५–१७ हजार ल्याएर विनर हुन्छ भन्ने अनुमान छ ।

– प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ ? कांग्रेस कि एमाले ?
– अहिले त एमाले नै निकटतम प्रतिद्वन्द्वितामा कुदिरहेको छ ।

– तर फेरि अहिले त नयाँको पनि लहर आएको छ । मन र मत परिवर्तनको लहर देखिन्छ सामाजिक सञ्जालहरूमा । घण्टी, माटो भन्ने खालको लहर देखिन्छ । त्यसलाई कसरी हेर्नुभएको छ ?
– त्यो एउटा चरणमा रहेको छ तर भोजपुरको सन्दर्भमा दुवैको स्थिति निर्णायक तहमा होइन ।

– भोजपुरमा तीनपटक चुनाव जितिसक्नुभएका शेरधन राई जो मन्त्री, मुख्यमन्त्री पनि बनिसक्नुभयो । अहिले एमालेको हाई कमाण्डमै हुनुहुन्छ । हेभिवेटसँगै चुनाव भिड्नु त चुनौती छ नि हैन ?
– शेरधनजीले मलाई सहयोग गरिरहनुभएको छ । उहाँ जति ठाउँमा भोट माग्दै जानुहुन्छ, त्यति धेरै उहाँको लोकप्रियता खस्केको शेयर बजार जस्तो घट्दो देखिन्छ । उहाँलाई मेरो अनुरोध मलाई त्यसरी नै सहयोग गर्नुस् । चुनावी अभियान रोकेर त जाने स्थिति हुँदैन । एउटा तीव्र गतिमा उडिरहेको ठूलो जेटलाई एउटा सानो कागले नै दुर्घटनामा पार्न सक्छ । तपाईँले भनेजस्तो हेभीवेट जेट सानो एउटा कर्‍याङकुरुङले नै दुर्घटनामा पार्न सक्छ । यसको सन्तुलन ठूलो जहाजको हैन, ठूलो तौलको जहाज र कर्‍याङकुरुङको रूपमा तुलना गर्दा राम्रो हुन्छ।

– शेरधन राईको ग्राफ कसरी के कारण घटिराखेको छ त ?
उहाँ धेरै चिजमा स्क्यान्डलमा रहनुभएको छ र त्यो प्रमाणित नै छ । कतिपय अख्तियारमा थाती मुद्दाहरुले पनि असर पारेको स्थिति छ । दोस्रो चिज उहाँले आजसम्म जितेको भनेको २ नम्बर क्षेत्रबाटै जित्नुभएको हो, भोजपुरबाट जितेको स्थिति होइन । त्यसो हुँदा बढी प्रभावशाली र जनसंख्या र मतदानको हिसाबकिताबले धेरै मतदाता रहेको १ नम्बर । तत्कालको प्रदेशको १ नम्बर (प्रदेश क) मा उहाँको कतिपय अभिव्यक्ति र नगरेका कामहरूको पनि जस लिने होडबाजीले स्थिति कमजोर देखिन्छ । तेस्रो चिज भनेको उहाँका कतिपय निजी र त्यो भुइँ जनताहरुको बीचमा निजी जीवनशैली देखेर पनि मानिसहरुले वास्तवमा अस्वीकार गर्ने स्थिति बढ्दो छ।

– घरदैलो र प्रचारको दौडाहामा जनताको मनोविज्ञान कस्तो पाइरहनु भएको छ ? खासगरी दल, त्यसमाथि पनि पुराना र नेतामाथि अलि बढी आलोचना छ नि !

-जनताको आलोचना बढ्नु राम्रो कुरा हो । उनीहरूको आलोचनामा हिजो निरपेक्ष छ र बढी गालीगलौजमा आधारित थियो, आज सापेक्ष छ र तथ्यपूर्ण बन्दै गएको छ । यसप्रति म बढी जागरुक र सचेत छु । तथ्यपूर्ण र तीक्ष्ण टिप्पणीको स्थिति बढेको छ, त्यो हाम्रो लागि सकारात्मक पक्ष पनि हो । आलोचनाले सुधार आउँछ, राम्रो कुरा हो । यो अर्को कुरा, यो ठूला र पुराना दल भन्ने शहरको भाष्यको बीचमा त्यस्तो देखिन्छ । तर, गाउँहरूमा स्थापित र मर्दाको मलामी जाँदाको जन्तीहरू तिनै दलका कार्यकर्ताहरू भएको हुनाले त्यस्तो देखिँदैन । नयाँ भनिएकाहरू अनटेस्ट र उनीहरू स्थानीय तहमा अनुमोदन नभइसकेको हुनाले त्यो त्यति धेरै अन्तर पर्ने देख्दिनँ ।

– आफ्नो क्षेत्रको मुख्य समस्या के के देख्नुभएको छ त अहिले ?

यहाँ मान्छेहरुको प्रत्यक्ष सरोकार विकास निर्माणमै जोड छ । तर, प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी मुलुक र जनताको लागि संविधान ऐन(कानून निर्माण गर्नु हो । विधि र नीति निर्माण गर्नु हो, बजेट निर्माण गर्नु हो । हाम्रोजस्तो अविकसित र कतिपय गरिब मुलुकमा विकास निर्माणका योजना र कामसँग जोड्नु प्रतिनिधिसभाको सदस्यको बाध्यकारी अवस्था पनि हो । त्यसको लागि समन्वयकारी भूमिकामा रहनुपर्छ भनेर हामीले भनिरहेका छौँ । भौतिक विकाससँग अलि बढी बाटो, पुलपुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य आदि ज्वलन्त बनेर आएका छन् । सँगसँगै भ्रष्टाचार, अनियमितता, घुसखोरी, कमिसन, माफियातन्त्र, ढिलासुस्तीको पनि सुशासनसँग सम्बन्धित भएको हुनाले बढी आएको छ ।

– तपाईं निर्वाचित हुनुभयो भने प्राथमिकतामा के के पर्छन् ? ठोस योजना के छ ?

प्राथमिकतामा हामीले १, २, ३ भनेर क्याटेगोराइज गरेका छैनौँ । हामीले यी सबै चिजहरू गर्न गुरुयोजना बनाएरै जाने भनेका छौँ । र, त्यो मास्टर प्लानअन्तर्गत यो बीचमा रहेको भौतिक विकासका कुरा, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित कुरा रोजगारी समेट्छौँ । अधुरो अपुरो योजना प्रदेश सरकार, संघीय र स्थानीय सरकारसँग समन्वय गरेर जाने कुरा भनेका छौँ । विकास निर्माणसँग लिएर गएर चामत्कारिक ढंगले प्रतिनिधिसभाको सदस्य हुनासाथ जान्छ भन्ने कुरा नै गलत हो । नेतृत्वको हिसाबले असफल हुने चरण पनि हामी त्यसो गर्दैनौँ र गर्नुहुन्न । र, हामी गुरुयोजनाअन्तर्गत नै जान्छौँ ।

– यो जेन्जी आन्दोलनपछि अलि युवाका एजेन्डाका कुरा पनि धेरै सुनिन्छन् । तपाईंले युवाका लागि केही सोच्नुभएको छ ?
जेन्जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त समाजको लागि सुदृढ सरकार, सुदृढ सुशासन संविधान संशोधनबाट लिएर जाने भनेका छौँ । एक पालिका एक उत्पादनमा जाने, युवा रोजगार, उद्यमशीलताका कुरामा जोड दिन्छु ।

– अलि फरक प्रसंग, अजम्बरलाई विचारमा अडिग नभएको, दल अदलबदल गरिरहन्छ भन्ने आरोप पनि यदाकदा सुनिन्छ । यसमा के छ स्पष्टीकरण ?

मैले अवसरको निम्ति त्यस्तो गरेको होइन । मेरो उच्च र वास्तवमा समयभन्दा बढी अग्रचेतले नै मैले विद्रोहको झण्डा उठाएको हो । मेरो उच्च चेतको कारणले जुन मैले दल परिवर्तन गर्ने स्थिति बन्यो, अहिले नागरिकको तर्फबाट मात्रै होइन, दलको उच्च नेताहरूको हैसियतले पनि पुष्टि गरेको छ । जस्तै, माले हुँदाखेरि महाकाली सन्धिको विरोध गरियो । दोस्रो पटक पहिचान र संघीयताको मुद्दामा एमालेले त्यो अडान छोड्यो भनेर दोस्रो पटक विद्रोह गरियो ।

र, तेस्रो पटक मैले यी सबै पुराना दलले एजेन्डाहरू खराब गरे भनेर मैले माओवादी केन्द्रमा जोइन गर्दा स्थिति आज के देखिन्छ भने महाकालीको सन्धिको कुरामा चुच्चे नक्सा बनाएर पनि मेरो कुरा ठिक रहेछ भन्ने कुरा भयो । पहिचान र संघीयताको विषयमा पनि अहिलेको सन्दर्भमा कोशी प्रदेशको नामाङ्कनदेखि यता संघीयतालाई सुदृढीकरण गर्ने कुरामा मेरो विद्रोह ठिक थियो भन्ने कुरा पुष्टि भयो । विद्रोहलाई अवसरको रुपमा नहेरिदिहनुहुन म आम मतदाता र भोजपुरे जनताहरुमा अपील र अनुरोध गर्दछु ।

– एउटा रोचक के पनि देखिन्छ भने आजभन्दा आठ वर्ष अगाडि राजेन्द्र राई र तपाईं चुनावी मैदानमा आमने(सामने हुनुहुन्थ्यो । उहाँसँग पराजित पनि हुनुभयो । अहिले एउटै मोर्चामा हुनुहुन्छ, अझ भनौँ राजेन्द्र राई मुख्यमन्त्री हुँदा गरेका कामको ब्याज लिने दाउमा देखिनुहुन्छ । के भन्नुहुन्छ ?

हामी हिजो चुनाव लड्दाखेरि पनि मित्रवत् र एकदमै स्वस्थ ढंगले नै लडेका थियौँ । अस्वस्थ र शत्रुवत् सम्बन्ध नभएकै कारण आज हामी एउटा दलमा आइयो । र, विचारधारात्मक रूपमा एक भएकोले एउटै दल भइयो । र, गजब चिज के छ भने मैले उहाँलाई निर्वाचित भइसकेपछि औपचारिक घोषणा नहुँदै बधाई दिँदा उहाँले त्यतिखेर निर्वाचित हुँदाखेरि पनि संसदीय राजनीतिमा मभन्दा तपाईँ अब्बल हो, निर्विकल्प तपाईँ हुनुपर्थ्यो, कुनै पनि बेला तपाईँलाई त्यो बनाउने अवसर मिलोस् भनेर भन्नुभएको थियो । त्यो अवसर आज उहाँलाई पनि आएको छ । मेरो यो अवसरको बीचमा उहाँ निर्वाचन परिचालन समिति संयोजक हुनुन्छ । दुईटै चिजको एउटा सुखद समीकरण परिणाम आउँछ भन्ने हाम्रो आशा छ ।

– अन्तिममा भोजपुरे मतदाताले तपाईंलाई नै किन रोज्नुपर्ने ? बुँदामै भन्दिनु न !

भोजपुरको जनप्रतिनिधि नहुँदा पनि भोजपुरको जनताको सुख–दुःखमा भुइँ तहमा बसेर काम गरेको छु । सामाजिक काममा, विकास निर्माणको कामहरुमा अगुवाइ गरेको छु नम्बर एक । नम्बर दुई, अहिले भोजपुरे जनताको तीक्ष्ण चाहना एकपटक यत्तिका मान्छे बौद्धिक, स्वस्थ, निस्वार्थी र इमानदार मान्छेलाई प्रतिनिधिसभामा सदस्यको रूपमा पुर्‍याएर भोजपुरेको गौरव र गरिमा पनि बढाउन चाहन्छौँ भनेर धेरै भनेका छन् । अन्य दलका मानिसले पनि भनेका छन् ।

तेस्रो चिज भनेको म इमानदार, निष्ठावान् र वास्तवमा भ्रष्टाचारमुक्त मेरो आचरण र शैली भएको हुनाले पनि आजका जुन परिवर्तित युवा र जनताहरुले पनि त्यो खालको स्थिति मन पराउँछन् र त्यसको निम्ति सबैभन्दा उत्तम पात्र म पनि हुँ ।

चौथो प्रतिनिधिसभाको सदस्य हुनु भनेको अघि मैले भने जस्तै संविधान निर्माण, परिवर्तन, विधि, योजना, नीति, बजेट निर्माणको कारणले पनि यो बढी प्राविधिक र अलि बढी म आफैँ पनि दुईटा विषयमा स्नातकोत्तर छु । कानूनमा ससमेत एलएलबी भएको हुनाले पनि शैक्षिक योग्यता र अनुभवको आधारले पनि त्यसको निम्ति म काबिल र योग्य पात्र हुँ । अर्को कुरा, भोजपुरे जनताहरुसँग मेरो त्याग, मेरो संघर्ष र मेरो समर्पणको प्रतिफल साथै यत्तिका इमानदार, अनुभवी मान्छेलाई भोजपुरले एउटा गर्वयोग्य प्रतिनिधिको निम्ति पनि मौका दिनुस् भन्ने हो ।

नेपाल प्रेसबाट साभार

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds