काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म १ करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ।
आयोगका अनुसार डोल्पादेखि रोल्पासम्मका ५३ जिल्लाको मतपत्र छपाइ सकिएको हो । मंगलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा बुधबार थप ६ जिल्लाको छपाइ सकिएको छ।
छापिएका जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगले जनाएको छ। दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गत २२ पुसदेखि मतपत्र छपाइ सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम ९नवलपरासी०, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । अब बाँकी ३० जिल्लाको मतपत्र छपाइ हुने आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ २६ पुसदेखि १३ माघसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ र रुजुसमेत गरेर ढुवानीको तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ १६ माघ बिहानदेखि सुरु भएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।