विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूले आफ्नो निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने निर्देशन दिएको छ।
आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले फागुन ३ गतेभित्रै आफ्नो घोषणापत्र सार्वजनिक गरिसक्नुपर्ने र त्यसको प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने जनाएको हो ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ को प्रावधान बमोजिम यो निर्देशन दिइएको हो ।
उम्मेदवार र दलका लागि छुट्टाछुट्टै व्यवस्था
आयोगको निर्णय अनुसार राजनीतिक दलहरूले आफ्नो केन्द्रीय घोषणापत्र निर्वाचन आयोगमा बुझाउनुपर्नेछ भने व्यक्तिगत रूपमा चुनाव लडिरहेका वा दलका तर्फबाट उम्मेदवार बनेकाहरूले आफ्नो निर्वाचन क्षेत्रको सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउनुपर्नेछ ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको छ ।”
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि उम्मेदवारहरूले आफ्ना प्रतिबद्धताहरू समयमै आधिकारिक निकायमा दर्ता गराउनु पर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अब उम्मेदवारहरूसँग घोषणापत्र सार्वजनिक गरी बुझाउन केही दिन मात्र बाँकी छ।
आयोगले तोकिएको समय सीमाभित्रै घोषणापत्र पेस गरी निर्वाचन आचारसंहिताको पालना गर्न सबै उम्मेदवार र राजनीतिक दलहरूलाई आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।