लोड हुँदैछ...

मेनु

नेकपाको घोषणापत्र सार्वजनिक, वार्षिक ५ लाखलाई रोजगारी

नेकपाको घोषणापत्र सार्वजनिक, वार्षिक ५ लाखलाई रोजगारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको सो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो ।

पार्टीले विद्यमान निर्वाचन प्रणाली खर्चिलो भएको ठहर गर्दै शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गरेको छ । मन्त्रिपरिषद्को आकार २५ जनामा सीमित गर्ने, सांसदहरूलाई विधायकको भूमिकामा मात्र केन्द्रित गर्ने र कुल बजेटको ६० प्रतिशत हिस्सा प्रदेश तथा स्थानीय तहमा पठाउने योजना अघि सारिएको छ ।

विशेषगरी, सुशासन कायम गर्न वि।सं। २०४६ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न एक वर्षभित्र ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने र दोषी देखिए सम्पत्ति राष्ट्रियकरण गर्ने कडा नीति लिइएको छ । अख्तियार र सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ुलोकपालु गठन गर्ने र सरकारी सेवालाई ुफेसलेस र पेपरलेसु बनाउने प्रतिबद्धता गरिएको छ ।

नेकपाले आगामी ५ वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र १ लाख वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्यमी बनाउने योजना घोषणापत्रमा छ ।

आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै २ वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य राखिएको छ । किसान पेन्सन, कृषि बीमा र समर्थन मूल्यको अग्रिम घोषणा जस्ता कार्यक्रममार्फत ुभोकमुक्त नेपालको संकल्प गरिएको छ । साथै, २ वर्षभित्र भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्वासीमुक्त घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ ।

निःशुल्क स्वास्थ्य र गुणस्तरीय शिक्षा
शिक्षा र स्वास्थ्यलाई नाफामूलक व्यापारबाट सेवामूलक क्षेत्रमा रूपान्तरण गर्ने नीति लिइएको छ । स्वास्थ्य सेवालाई पूर्ण निःशुल्क बनाउने, विसं २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने र एक पालिका, एक स्मार्ट विद्यालय को अवधारणा कार्यान्वयन गर्ने उल्लेख छ ।

विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा अन्त्य गरी योग्यताका आधारमा नियुक्ति गर्ने प्रणाली लागू गरिनेछ । आगामी ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति खपत ७५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य छ । पूर्व– पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, काठमाडौँमा मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम ५ वर्षभित्र सम्पन्न गर्ने योजना अघि सारिएको छ ।

दलित, महिला, जनजाति र सीमान्तकृत समुदायको समानुपातिक प्रतिनिधित्वका लागि संविधान संशोधन गर्ने र जातीय छुवाछुत विरुद्ध राष्ट्रिय अभियान चलाउने पार्टीको संकल्प छ । परराष्ट्र नीतिका सम्बन्धमा असंलग्नतालाई सुदृढ गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने र राष्ट्रिय हितलाई सर्वोपरी राख्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।