लोड हुँदैछ...

मेनु

दलको ‘प्रचारक’ बनेर भोट माग्न थाले जगद्गुरु बालसन्तः

आध्यात्मिक मर्यादाविपरीत चतरा पिठलाई दलीय केन्द्र बनाइदै

आध्यात्मिक मर्यादाविपरीत चतरा पिठलाई दलीय केन्द्र बनाइदै

विराटनगर । नेपालका प्रथम जगद्गुरुको उपाधि पाएका बालसन्त मोहनशरण देवाचार्य पछिल्लो समय आफ्नो आध्यात्मिक ओजभन्दा राजनीतिक सक्रियताका कारण विवादमा तानिएका छन् ।

सुनसरीको चतराधामलाई ‘प्राचीन हरिद्वार’का रूपमा स्थापित गर्न सफल र हजारौं अनुयायी भएका सन्तको पछिल्लो गतिविधिले उनको ‘जगद्गुरु’ पदको तटस्थता र सर्वस्वीकार्यतामाथि गम्भीर प्रश्न खडा गरिदिएको हो ।

केही दिनदेखि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र स्थानीयस्तरमा भएका गतिविधिले उनी कुनै आध्यात्मिक गुरु नभई एउटा राजनीतिक दलको ‘सक्रिय कार्यकर्ता’ वा ‘प्रचारक’ का रूपमा प्रस्तुत भइरहेको पुष्टि गर्दछ । उनले चतराधामस्थित आफ्नै पिठमा अनुयायीहरूलाई बोलाएर एउटा राजनीतिक (राप्रपा) को चुनाव चिन्ह ‘हलो’मा मतदान गर्न दबाब दिने र अनुचित प्रभाव पार्ने कार्य गरिरहेका छन् । त्यतिमात्र होइन अहिले भेटघाटको नाममा घरदैलो गर्दै हलोमा भोट माग्न उनी व्यस्त छन् ।

बालसन्तले मत माग्ने क्रममा प्रयोग गरेको भाषा झनै विवादास्पद छ। उनले भन्ने गरेका छन्, ‘अब हलोमा भोट हाल्नुहोला, रुख काटेर हलो बनाउने हो, तारा झार्ने हो, सूर्यलाई बादल लगाउने हो।’ आध्यात्मिक गुरुले प्रयोग गर्ने यस्तो रूपकले अरू राजनीतिक दलप्रति शत्रुतापूर्ण भाव पैदा गर्ने मात्र नभई समाजमा वैचारिक विभाजन ल्याउने जोखिम बढाएको छ। विशेष गरी निम्मार्गी र आफ्ना भक्तहरूलाई धार्मिक आस्थाको कसम खुवाएर राजनीतिक स्वार्थ पूरा गर्न खोज्नुले जगद्गुरुको गरिमालाई ‘दलको झोले’ स्तरमा झारेको भन्दै आलोचना भइरहेको छ ।

नेपालको संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई राजनीतिक विचार राख्ने र संगठित हुने अधिकार दिएको छ । कानुनी रूपमा कुनै सार्वजनिक लाभको पदमा नरहेको व्यक्तिले राजनीति गर्न पाउनु उनको मौलिक हक हो । तर, जगद्गुरु जस्तो पद संवैधानिक पदभन्दा धेरै माथि ‘सामाजिक र आध्यात्मिक’ गरिमा बोकेको पद हो ।

निर्वाचन आचारसंहिताले ‘धार्मिक स्थल’ लाई राजनीतिक प्रचारको थलो बनाउन निषेध गरेको छ । चतराधाम जस्तो पवित्र तीर्थस्थललाई राजनीतिक भेला र मत माग्ने केन्द्र बनाउनु कानुनी र नैतिक दुवै दृष्टिले गलत छ । अनुयायीहरूलाई आफ्नो धार्मिक प्रभावमा पारेर मतदान गर्न लगाउनु अनुचित प्रभावको श्रेणीमा पर्दछ, जुन लोकतान्त्रिक अभ्यासको विरुद्धमा छ ।

सर्वस्वीकार्यताको अन्त्य र समाजको विभाजन
जगद्गुरुको अर्थ सारा जगतको गुरु भन्ने हुन्छ । जगतमा सबै विचारधारा, सबै दल र सबै आस्थाका मानिसहरू अटाउँछन् । तर, जब एक गुरुले आफ्नो झण्डा र चिन्ह ‘हलो’ मात्र हो भन्न थाल्दछन् तब उनी रुख, सूर्य वा तारा चिन्ह मान्ने लाखौँ भक्तहरूका गुरु रहन सक्दैनन् । यसले उनको व्यक्तित्वलाई संकुचित बनाएको छ ।

धर्मले समाजलाई जोड्नुपर्छ, विभाजन होइन भन्ने मान्यता राखिन्छ । तर, गुरुले नै घरदैलो गरेर एउटा पार्टीको पक्षमा भोट माग्न थालेपछि समाजमा धार्मिक सद्भाव बिग्रने र एउटै धर्मभित्र पनि राजनीतिक कित्ताकाट हुने अवस्था सिर्जना भएको छ । राजनीति गर्ने नै भए ‘जगद्गुरु’ को पवित्र पगरी फुकालेर खुला राजनीतिमा आउनु नैतिक हुन्छ, अन्यथा गुरुको आवरणमा राजनीतिक स्वार्थ सिद्ध गर्नु आध्यात्मिक ठगी मानिनेछ ।

नेपालको पहिलो जगद्गुरुका रूपमा मोहनशरण देवाचार्यले स्कन्द पुराणको अनुसन्धान, कुम्भ मेलाको आयोजना र मेची–महाकाली पदयात्रा जस्ता ऐतिहासिक कार्यहरू गरेका छन् । उनको यो उचाइलाई एउटा राजनीतिक दलको प्रचारक बनेर धुमिल पार्नु सुहाउने कुरा होइन ।

हिन्दु राष्ट्रको एजेन्डा बोक्नु उनको वैचारिक स्वतन्त्रता हुन सक्छ, तर त्यसका लागि कुनै दलको ‘कार्यकर्ता’ जस्तो बनेर घरदैलो गर्नु र अरूको अस्तित्व मेटाउने भाषा बोल्नुले उनको आफ्नै मर्यादा उल्लंघन भएको छ । समयमै यस्ता गतिविधि रोकेर आफ्नो सर्वस्वीकार्यता जोगाउनु नै जगद्गुरु र उनका अनुयायीहरूका लागि हितकर हुने राजनीतिक दलका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।