काठमाडौँ: आईसीसी टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल साविक विजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको छ । जितका लागि १८५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन र कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । यी दुईबीच तेस्रो विकेटका लागि भएको ८२ रनको साझेदारीले एक समय नेपाललाई जिततर्फ डोहोर्याएको थियो । दीपेन्द्रले यसै खेलमार्फत टी-२० आईमा १ हजार रनको आँकडा समेत पार गरेका छन् । ओपनर कुशल भुर्तेलले २९ रन जोडे भने अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा क्रिजमा रहेका लोकेश बमले टोलीलाई जित दिलाउन सकेनन् । इंग्ल्यान्डका लियम डसनले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो । उसका लागि ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका तर्फबाट बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने डेब्युटान्ट शेर मल्लले आफ्नो करियरको पहिलो बलमै विकेट लिएर सनसनी मच्चाएका थिए । सन्दीप लामिछानेले पनि १ विकेट हात पारे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।