खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्सको एक अवैध कोइलाखानीमा भएको विस्फोटमा परी थप एक नेपालीको मृत्यु भएको छ । गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको उपचारका क्रममा मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको हो ।
यसअघि माघ २२ गते भएको डाइनामाइट विस्फोटमा सालघारीकै २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते नरबहादुरको शिलोङस्थित इन्दिरागान्धी क्षेत्रीय स्वास्थ्य विज्ञान संस्थानमा उपचारका क्रममा माघ २३ गते ज्यान गएको हो ।
विस्फोटमा बराहपोखरीकै कर्णबहादुर खपाङ्गी, बमबहादुर खपाङ्गी र उदयपुरका ललित मगर अझै गम्भीर घाइते छन् । घटनामा सकुशल रहेका ताराबल मगरले परिवारलाई खबर गरेपछि यो दुःखद घटना सार्वजनिक भएको हो ।
रोजगारीका लागि पुस ३ गते मात्रै भारत पुगेका युवाहरुको बीभत्स मृत्युपछि सालघारी गाउँ शोकमा डुबेको छ । सम्पत्ति कमाउने सपना बोकेर परदेशिएका एकै गाउँका तीन युवाले ज्यान गुमाएपछि पीडित परिवारहरु यतिबेला मेघालयतर्फ लागेका छन् । अवैध रुपमा सञ्चालित उक्त खानीमा अझै केही कामदारहरु फसेको हुनसक्ने अनुमानमा उद्धार कार्य जारी राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।