विराटनगर । कोशी राजमार्गबाट भित्र छिर्नेबित्तिकै विराटनगर–४ को बनलौरी टोल पुगिन्छ । महानगरभित्रको यो वस्तीको दृश्यले यो सहर नै हो त भनी जो कसैको मनमा प्रश्न उठिहाल्छ । एकातिर पूर्वसांसद डा. सुनील शर्माको स्वामित्वमा रहेको नोबेल मेडिकल कलेजको विशाल संरचना छ, अर्कोतिर डा. शेखर कोइरालाको आमाको नाममा स्थापित ‘नोना कोइराला स्मृति प्रतिष्ठान’ को भव्य तर प्रायः सुनसान रहने भवन । त्यसैको छेउमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा २० करोडभन्दा बढीको लगानीमा अर्को भीमकाय भवन ठडिँदैछ ।
सत्ता, शक्ति र पहुँचका आधारमा ठडिएका यी विशाल संरचनाहरूको ठीकमुनि एउटा यस्तो वस्ती छ, जसलाई यी भवनहरूले गिज्याइरहेझैँ लाग्छ । उराव (झाँगड), गडेरी र गिरी समुदायको बसोबास रहेको बनलौरी र गिरी टोलका झण्डै दुई सय घरधुरीमध्ये ९० प्रतिशत त कच्ची नै छन् । दुई घण्टा झरी पर्दा यो वस्ती जलमग्न हुन्छ । ढल छैन, सडकमा बिजुलीका नाङ्गा तारहरू लत्रिएका छन् र सडक नै गाईवस्तु बाँध्ने गोठजस्तो देखिन्छ ।
अहिले चुनावको माहोल छ । मोरङ–६ मा पर्ने यो वस्तीका कतिपय घरहरुमा डा. शेखर कोइरालाका पोस्टरहरू अझै टाँसिएको । जसमा लेखिएको छ— ‘जनताको विश्वास फिर्ता ल्याउँछु ।’ तर, वस्तीका युवा र वृद्धहरूको मनमा भने ‘विश्वास’ भन्दा बढी ‘वितृष्णा’ पलाएको देखिन्छ ।
२१ वर्षीया काजल गडेरीले भर्खरै बीबीए (स्नातक) पुरा गर्नुभएको छ । शिक्षित युवाका लागि रोजगारी दिने नेताहरूको नारा उहाँलाई उडन्ते गफ लाग्छ । “मैले पढेर के पाएँ ? कतै जागिर खोज्न गयो भने ५–७ हजार दिन्छु भन्छन् । महिनाको कलेज फि नै त्योभन्दा बढी थियो,” काजल भन्छिन्, “हाम्रा लागि न जागिर छ, न सम्मान । अब त भोट हाल्नै जान मन छैन ।”

उहाँका काका अजय गडेरीलाई २०७४ सालको चुनावको एउटा बाचा अझै याद छ । डा. शेखर कोइरालाले सबैको फुसको छाना हटाएर पक्की घर बनाइदिने आश्वासन दिएका थिए । “अहिलेसम्म न हाम्रो घर पक्की भयो, न त सडक नै बन्यो । स्वच्छ पानी पिउनसमेत पाइएको छैन,” अजय गुनासो गर्छन् ।
इक्राहीका ७० वर्षीय फनकलाल पनि पछिल्लो अवस्थाप्रति सन्तुष्ट सुनिनुभएन । सिभिल इन्जिनियर पास गरेको छोरा ट्याक्टर चलाएर गुजारा चलाउनु पर्ने अवस्था रहेको भन्दै कसैले पनि देशका लागि काम नगरेको उहाँको गुनासो छ ।

विराटनगर ४, ५, ६ र १२ का किसानहरूको व्यथा पनि उस्तै छ । खेतीको समयमा मल पाइँदैन, सिँचाइको प्रबन्ध छैन । सडकका खाल्डाखुल्डीले गाउँलाई झनै दुर्गम बनाइदिएको छ । विगतमा डा. शेखर कोइराला, लालबाबु पंडित, विजयकुमार गच्छदार आदिलाई संसदमा पठाएको मोरङ–६ ले यस पटक के गर्ला भन्ने चासो सर्वत्र छ । तर पिछडिएको वस्तीको अवस्थाले स्थानीयहरुको मन यस पटक खलबलिएको छ । चुनावमा कांग्रेसका डा. शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्रकुमार राय, रास्वपाकी रुविना आचार्यसमेत गरी २० जना उम्मेदवारहरु मैदानमा उत्रिनुभएको छ ।
बनलौरी, गिरीटोल, इक्राही र ज्वाला टोलका मतदाताहरू अहिले पर्ख र हेरको अवस्थामा छन् । उनीहरूलाई कसलाई प्रधानमन्त्री बनाउने भन्नेभन्दा पनि आफ्नो वस्तीको ढल कहिले बन्छ र आफ्ना शिक्षित सन्तानले कहिले रोजगारी पाउँछन् भन्ने चिन्ता छ । नेताहरू गाउँ छिर्ने तरखरमा छन्, तर मतदाताहरू यसपटक पुराना आश्वासनमा मात्रै भुल्ने मुडमा देखिँदैनन् ।
निर्वाचनको मतपत्रमार्फत यहाँका नागरिकले आफ्नो आक्रोश व्यक्त गर्छन् या फेरि पुरानै आश्वासनमा विश्वास गर्छन्, त्यो त फागुन २१ ले नै बताउनेछ । तर, वस्तीको अवस्थाले भने नेताहरूलाई गम्भीर प्रश्न गरिरहेको छ— “सत्ताका महलहरू ठडिँदै गर्दा, गरिबको झुपडी कहिलेसम्म चुहिरहने ?”





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।