काठमाडौं । नेपाली क्रिकेट प्रेमीहरूको लामो प्रतिक्षा अब समाप्त हुँदैछ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार नेपालले आफ्नो पहिलो खेलमा साविक विश्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ ।
नेपाल र इंग्ल्यान्डबीचको यो ऐतिहासिक खेल भारतको मुम्बईस्थित प्रसिद्ध वानखडे रंगशालामा नेपाली समयअनुसार आइतबार हुनेछ । सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमार्फत पहिलोपटक विश्व मञ्चमा पाइला टेकेको नेपालले १० वर्षको अन्तरालपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागिता जनाएको थियो । सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान खिचेको नेपालले यसपटक थप सुधारिएको खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, साविक विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् । बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्यान्डले यस विश्वकपमा अवसर पाएको हो । नेपालका सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा हुने तय भएको छ ।
नेपाली टोलीको नेतृत्व युवा ब्याटर रोहितकुमार पौडेलले गरिरहेका छन् । यसैगरी, नेपाली टोलीका अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले यस खेलसँगै नयाँ कीर्तिमान राख्दै छन् । उनका तीनवटा टी –२० विश्वकप (२०१४, २०२४ र २०२६) खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन् ।
दश वर्षको अन्तरालपछि लगातार दोस्रोपटक विश्वकप खेलिरहेको नेपालले यसअघिका संस्करणमा समूह चरण पार गर्न सकेको छैन । यद्यपि, पछिल्लो समयमा नेपालले प्रदर्शन गरेको जुझारु खेलका कारण यसपटक नेपाली समर्थकहरू उत्साही देखिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।