विराटनगर । कोशी प्रदेश सभा स्थापनाको आठौँ वार्षिकोत्सव समारोहमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच चलेको छ । उत्सव मनाउन भेला भएका नेताहरूबीच प्रदेशको औचित्य, संसदीय मर्यादा र कर्मचारीको पारिश्रमिकका विषयमा मतभेद छताछुल्ल भएको हो ।
समारोहमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता इन्द्रबहादुर आङबोले सरकारको प्रशासनिक अपरिपक्वतामाथि कडा प्रहार गरे । सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएकोप्रति आक्रोश पोख्दै उनले सरकारले कानुनको अपमान गरिरहेको आरोप लगाए । “कानुन अनुसार नियुक्त भएका स्वकीय सचिवहरूको सेवा–सुविधा रोक्ने अधिकार सरकारलाई छैन,” आङबोले भने, “कि त कानुन संशोधन गरेर यी पदहरू खारेज गरियोस्, अन्यथा काम गरिसकेका कर्मचारीको पारिश्रमिक तत्काल भुक्तानी गरियोस् ।” उनले सरकारले स–साना प्राविधिक विषयमा अल्झिएर जनप्रतिनिधिका सहयोगीहरूलाई मर्कामा पारेको टिप्पणी गरे ।
यस्तै, पूर्व मुख्यमन्त्री केदार कार्कीले संसदीय गरिमा र संघीयताको रक्षाका विषयमा सभामुख अम्बरबहादुर विष्टको भूमिकामाथि गम्भीर प्रश्न उठाए । सभामुखले नै प्रदेश संरचनाको विरोधमा अभिव्यक्ति दिने गरेको संकेत गर्दै कार्कीले भने, “सभामुख जस्तो गरिमामय पदमा बसेर प्रदेश चाहिँदैन भन्न मिल्छ ? उहाँले आफ्नो बोलीमा लगाम लगाउनुपर्छ ।” जुन संस्थाको नेतृत्व गरिरहेको हो, त्यही संस्थाको अस्तित्वमाथि प्रश्न उठाउनु नैतिकताको कसीमा गलत हुने उनको तर्क थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता उद्धव थापाले भने प्रदेश सभाको आठ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै राजनीतिक दलहरू मिलेर नै प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
समारोहका मुख्य अतिथि एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने न्यायिक र व्यवस्थापकीय पक्षमा आफ्नो धारणा राखेका थिए । उनले प्रतिनिधि सभा विघटन र वर्तमान सरकारको वैधानिकताका बारेमा सर्वोच्च अदालतले चुनावअघि नै फैसला नदिए न्याय प्रणालीमाथिको जनविश्वास गुम्ने खतरा औंल्याए । साथै, ‘जेनजी’ आन्दोलनका कारण प्रदेश सचिवालयमा क्षति पुगेकाले आगामी हिउँदे अधिवेशन विराटनगर महानगरपालिकाको हल भाडामा लिएर सञ्चालन गर्न लागिएको जानकारी समेत दिए ।
वार्षिकोत्सवको अवसरमा प्रदेश सभाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिए पनि राजनीतिक नेतृत्वबीचको अविश्वास र आरोप–प्रत्यारोपले कार्यक्रमको वातावरण गर्माएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।