लोड हुँदैछ...

मेनु

बंगलादेशले जुट बेच्न छोडेपछि संकटमा नेपाली जुट उद्योग

बंगलादेशले जुट बेच्न छोडेपछि संकटमा नेपाली जुट उद्योग

विराटनगर । नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्रका रूपमा चिनिने सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरू अहिले गम्भीर संकटमा परेका छन् । कच्चा जुटको प्रमुख स्रोतको रुपमा रहेको बंगलादेशले कच्चा जुट निर्यातमा कडाइ गरेपछि नेपाली उद्योगहरू धराशायी बन्ने अवस्था उत्पन्न भएको हो ।

गत सेप्टेम्बर महिनादेखि बंगलादेशले कच्चा जुट निर्यातलाई ‘कन्डिस्नल’ (ससर्त) बनाएपछि नेपाली उद्योगीहरूले आवश्यकता अनुसार कच्चा पदार्थ आयात गर्न सकेका छैनन् । बंगलादेशभित्रै कच्चा जुट बाहिर पठाउनु हुँदैन भन्ने तीव्र विरोध र आन्तरिक मागका कारण निर्यात प्रक्रिया झन्झटिलो बनाइएको छ । यसले गर्दा विगत पाँच महिनादेखि नेपाली जुट मिलहरूले कच्चा पदार्थको चर्को अभाव झेल्दै आएको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणि भट्टराईले जानकारी दिए ।

बंगलादेशले निर्यातमा नियन्त्रण गर्न थालेको र भारतबाट कच्चा जुट ठूलो परिमाणमा ल्याउन सक्ने अवस्था नरहेका कारण यहाँका उद्योगहरुले कच्चा जुटको अभाव झेल्दै आइरहेका छन् । जुट उद्योगी तथा मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुण्दडाले बंगलादेशले कण्डिस्नल कन्ट्रोल गरेको भनेपनि पूर्णरुपमा निर्यात बन्द गरेको बताए । उनले भने, ‘सशर्त निर्यात गरिरहेको छैन पूरा बन्द छ, हामीसँग भएका कच्चा पदार्थले अहिले उद्योग चलिरहेका छन्, सकिएपछि बन्द हुन्छ ।’ उहाँले यस विषयमा पहल गर्ने कुनै ठाउँ नभेटेको र अहिलेको सरकारले पहल गरेर यी समस्या समाधान हुनेमा उद्योगीहरु विश्वस्त नरहेको पनि उनले बताए ।

यहाँका जुट उद्योगहरूलाई वार्षिक रूपमा करिब ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्दछ । यसमध्ये करिब ६५ प्रतिशत कच्चा जुट बंगलादेशबाट र करिब २० प्रतिशत भारतबाट आयात गरिन्छ । आन्तरिक उत्पादनले कुल मागको करिब १५ प्रतिशत मात्र धान्ने गरेको छ । नेपालमा हाल ५ वटा ठूला जुट उद्योगहरू सञ्चालनमा छन्, जहाँ झण्डै १२ हजार श्रमिक प्रत्यक्ष रूपमा कार्यरत छन् । कच्चा पदार्थको आयात सहज नभएमा यी हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने देखिएको छ ।

तथ्याङ्क अनुसार कच्चा जुट आयातका लागि मात्रै वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ । यद्यपि, आयातित कच्चा पदार्थबाट तयारी वस्तु बनाएर भारततर्फ ७ अर्ब रुपैयाँभन्दा बढीकै निर्यात हुने गरे पनि कच्चा पदार्थमै छिमेकी मुलुकको भर पर्नु पर्दा नेपाली उद्योगहरू सधैं जोखिममा रहने गरेका छन् ।

घट्दो आन्तरिक उत्पादन

कुनै समय नेपाल जुट उत्पादनमा आत्मनिर्भर मात्र थिएन, निर्यात समेत गर्दथ्यो । विसं १९९३ मा मुलुककै पहिलो उद्योग ‘विराटनगर जुट मिल’ स्थापना भएपछि सुरु भएको जुट खेतीले कुनै बेला ४० हजार मेट्रिक टनसम्म उत्पादनको इतिहास रचेको थियो । तर, अहिले त्यो उत्पादन घटेर वार्षिक ७ देखि ९ हजार मेट्रिक टनमा खुम्चिएको छ ।

विसं २०४१ मा जुट विकास संस्था बन्द भएपछि किसानले मल, बिउ र प्राविधिक सहयोग पाउन छाडे । जुट कुहाउने खाडलको अभाव, मजदुरको कमी र उत्पादन लागत अनुसारको उचित मूल्य नपाउँदा किसानहरू बिस्तारै यो खेतीबाट टाढिँदै गए ।
हाल बंगलादेशबाट हुने आयातमा देखिएको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न आवश्यक देखिएको छ । केही समययता उद्योग संगठन मोरङको संगठित पहलमा समस्या समाधानको उपाय खोजी गरिरहेको भएपनि सरकारको कुटनीतिक प्रयास बिना समस्या समाधान हुने अवस्था छैन । बंगलादेशमा रोजगारी बढाउन र तयारी वस्तु निर्यात गर्न तीब्र दबाब बढिरहेको यहाँका व्यवसायीहरुले बताएका छन् ।

एकातिर बंगलादेशको ‘कन्डिस्नल’ निर्यात र अर्कोतिर भारतले बेलाबेला लगाउने एन्टी–डम्पिङ ड्युटी लगाएर दुःख दिने गरेका कारण नेपाली जुट उद्योगहरू चेपुवामा परेका छन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन नगर्ने र आयातमा मात्र भर पर्ने नीतिका कारण अहिले यो ऐतिहासिक उद्योग नै धराशायी हुने स्थितिमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।