लोड हुँदैछ...

मेनु

निर्वाचन सुरक्षाका लागि आजदेखि देशभर ८० हजार नेपाली सेना परिचालित

निर्वाचन सुरक्षाका लागि आजदेखि देशभर ८० हजार नेपाली सेना परिचालित


विराटनगर ।
 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा योजना २०८२’ अनुरूप आजदेखि देशभर नेपाली सेना परिचालित भएको छ । निर्वाचन आउन ठ्याक्कै एक महिना बाँकी रहँदा सुरक्षा प्रबन्धलाई कडा बनाउन सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो जिम्मेवारी सम्हालेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते मन्त्रिपरिषद्को सिफारिसमा सेना परिचालनको स्वीकृति प्रदान गरेसँगै नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय एकीकृत रूपमा मैदानमा उत्रिएका हुन् । सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले यस निर्वाचनमा करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । सेनाले आवश्यकताअनुसार विभिन्न स्थानमा ‘वेस’ खडा गर्ने र सुरक्षा संवेदनशीलताका आधारमा अन्य निकायसँग मिलेर संयुक्त गस्ती समेत गर्नेछ ।

सुरक्षा योजनाअनुसार निर्वाचनमा तीन तहको सुरक्षा घेरा निर्माण गरिएको छ । मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र ‘निर्वाचन प्रहरी’ रहनेछन् भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल रहनेछ । नेपाली सेनाले भने सुरक्षाको बाहिरी घेरामा रहेर समग्र सुरक्षाको नेतृत्व गर्नेछ । सेनाले मतपत्र छपाइ, ढुवानी, मतदानस्थल, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षाको मुख्य जिम्मेवारी पाएको छ । यसबाहेक विमानस्थल, कारागार र महत्वपूर्ण राष्ट्रिय संरचनाको सुरक्षा समेत सेनाले गर्नेछ ।

यसपटकको निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थलमध्ये ३ हजार ६८० स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । १ करोड ८९ लाखभन्दा बढी मतदाता सहभागी हुने यस निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सेनाको सक्रियतासँगै मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने कर्मचारीलाई पूर्ण सुरक्षाको प्रत्याभूति हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।