विराटनगर । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवालाई आधुनिक प्रविधिमा स्तरोन्नती गर्ने उद्देश्यले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ ।
प्रविधिमा आएको परिवर्तन र ग्राहकको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले थ्रीजी सेवा हटाएर फोरजी र ‘‘भोल्टे’ सेवालाई सुदृढ बनाउने तयारी गरेको छ ।
एनसेलका अनुसार ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ प्रविधिलाई प्रवर्द्धन गर्दै फोरजी नेटवर्कलाई अझ शक्तिशाली बनाउन र भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्न थ्रिजी सेवा बन्द गर्न लागेको हो । फोरजीको विस्तार गरी थ्रीजीलाई विस्थापन गर्दा ग्राहकले भ्वाइस र डेटामा अझ उच्च गुणस्तरको अनुभव पाउने कम्पनीको विश्वास छ ।
यस प्रक्रियाअन्तर्गत एनसेलले आगामी माघ २२ गतेदेखि कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका विभिन्न स्थानीय तहहरूमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले ती क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूलाई अत्याधुनिक भोल्टे सेवामा आबद्ध हुन आग्रह गरेको छ ।
फोरजी सेवा लिँदा ग्राहकले अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।