लोड हुँदैछ...

मेनु

हिमाली जिल्लामा मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की

हिमाली जिल्लामा मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लाहरूमा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१ हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका लागि सरकारले आवश्यक सबै सहयोग गर्छ । विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा ती क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउन सकिनेछ ।”
उनले कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने प्रतिबद्धता व्यक्त गरिन् । हुनै नसक्ने अवस्था आएमा मात्र दोस्रो चरणको विकल्पबारे सोच्न सकिने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन नसर्ने स्पष्ट पार्दै ढुक्क भएर तयारीमा जुट्न सबैलाई आग्रह गरिन् । “अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश पाएको छैन,” उनले भनिन्, “समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेपछि देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा म विश्वस्त छु ।”

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले शत प्रतिशत प्रयास गरिरहेको पनि उनले जानकारी दिइन् । विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौतीहरू देखा परे पनि त्यसलाई समाधान गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री कार्कीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds