भोजपुर । भोजपुर जिल्लामा सुन्तलाका बोटहरू धमाधम सुक्न थालेपछि यहाँका किसानहरू ठूलो चिन्तामा परेका छन् । सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानहरूको मुख्य आयस्रोत र जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ ।
लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोटहरूमा अज्ञात रोग र अन्य समस्या देखिएपछि बगानहरू खाली हुन थालेका हुन् । भोजपुर नगरपालिका–६ का स्थानीय किसान सोवित आछामेका अनुसार सुन्तलामा ऐँजेरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै मर्ने समस्या देखिएको छ । यी समस्याका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ ।
प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा यो समस्या झनै विकराल बन्दै गएको किसानहरूको गुनासो छ । रोग लागेका बोटहरू बचाउन नसकेपछि कतिपय किसानले बाध्य भएर बोट काटेर फाल्नुपरेको छ ।
किसान आछामे भन्छन्, ‘राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ । बोट सुकेर बगान नै सखाप भएपछि किसानहरू अत्यन्तै चिन्तामा परेका छन् ।’
भोजपुरमा उत्पादन हुने सुन्तला यहाँका किसानका लागि आम्दानीको मुख्य आधार हो । तर, पछिल्लो समय रोग र उचित व्यवस्थापनको अभावमा यो व्यवसाय नै संकटमा पर्न थालेको छ । किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सुन्तला खेती जोगाउनका लागि तत्काल प्राविधिक टोली खटाउन र दीर्घकालीन योजना ल्याउन माग गरेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।