लोड हुँदैछ...

मेनु

कर्मचारी सरुवामा मन्त्रीको हस्तक्षेप : निर्णय यथावत, कार्यशैलीमा ‘आत्मआलोचित’

कर्मचारी सरुवामा मन्त्रीको हस्तक्षेप : निर्णय यथावत, कार्यशैलीमा ‘आत्मआलोचित’

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले कर्मचारी सरुवामा गरेको हस्तक्षेपपूर्ण निर्णयलाई लिएर मन्त्रालयमा गरेको काम कारवाहीलाई लिएर कार्यशैलीप्रति ‘आत्मआलोचित’ गरेका छन् ।

साढे एक महिनाअघि भएको सचिवस्तरीय सरुवा उल्ट्याएर विवादमा तानिएका मन्त्री लिम्बूले आफ्नो निर्णय सच्याउनुको साटो कार्यशैलीप्रति मात्रै कमजोरी स्वीकार गरेका हुन् ।

पुस २२ मा मन्त्री नियुक्त भएका लिम्बूले पदभार सम्हालेको आठौँ दिन पुस ३० मा सचिवको कार्यक्षेत्रमा हस्तक्षेप गर्दै ३९ मध्ये ६ जना कर्मचारीको सरुवा बदर गरिदिएका थिए । अघिल्ला मन्त्री भूपेन्द्र राईको कार्यकालमा गत मंसिर १७ गते भएको ‘सचिवस्तरीय’ निर्णयलाई लिम्बूले ‘मन्त्रीस्तरीय’ निर्णयमार्फत उल्ट्याएपछि मन्त्रालयको प्रशासनिक वृत्तमा तीव्र असन्तुष्टि बढेको थियो । मन्त्रीको उक्त कदमको चौतर्फी आलोचना भएपछि आइतबार मन्त्रालयमा सचिव र चारवटै महाशाखा प्रमुखहरूसँग झन्डै दुई घण्टा बैठक बसेको थियो ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार मन्त्री लिम्बूले कर्मचारी सरुवा उल्ट्याउने निर्णयले निम्त्याएको विवादलाई लिएर आत्मआलोचित भएका हुन् । “मन्त्रीज्यूले ६ जना कर्मचारीको सरुवा रद्द गरेर साविककै स्थानमा राखेको विषयमा आफूबाट त्रुटी भएको स्वीकार गर्दै आत्मआलोचित हुनुभयो,’ ती अधिकारीले भने, “आगामी दिनमा यस्ता विवाद आउन नदिने र समन्वय गरेर अघि बढ्ने उहाँको प्रतिबद्धता थियो ।’’ मन्त्रीले कार्यशैलीमा आत्मआलोचना गरे पनि विवादित भनिएको सरुवा बदरको निर्णय भने यथावत नै राखिएको छ । अर्थात्, मन्त्रीले जहाँ फिर्ता पठाएका थिए, कर्मचारीहरू सोही स्थानमै रहनेछन् ।

मुख्यमन्त्री कार्यालय र कर्मचारी ट्रेड युनियनको दबाबमा मन्त्री लिम्बूले ६ जना कर्मचारीलाई साविककै कार्यस्थलमा फर्काउने पत्र थमाएका थिए । यसरी फिर्ता हुनेहरूमा सुनसरी अस्पतालबाट धनकुटा पठाइएका राजकुमार मेहता पनि छन्, जो पटक–पटक विवादमा मुछिने गरेका कर्मचारी हुन् ।

मन्त्रीको निर्णयपछि सोलुखुम्बुबाट ओखलढुंगा सरुवा भएका केशव ढुंगाना सोलुखुम्बुमै, धनकुटाबाट उदयपुर पठाइएका नारायणप्रसाद खनाल धनकुटामै र उदयपुरबाट भोजपुर खटाइएका सुरेशकुमार पाण्डे धनकुटामै कायम भएका छन् । यस्तै, धनकुटाबाट सोलुखुम्बु पठाइएका विनोद गुरागाईंलाई धनकुटा अस्पतालमै र उदयपुरबाट सुनसरी पठाइएका गणेशप्रसाद भट्टराईलाई पुनः उदयपुरमै कायम गरिएको छ ।

सचिवको अधिकार क्षेत्र मिचेर मन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरेपछि मन्त्रालयभित्रै मन्त्रीको कार्यशैलीको विरोध भएको थियो । आइतबारको बैठकमा मन्त्रीले आगामी दिनमा मन्त्रालयको गोपनीयता कायम राख्न समेत कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

यता, मन्त्रीका स्वकीय सचिव गिरिश साम्बाले भने आइतबारको बैठकलाई नियमित प्रक्रिया भएको दाबी गरे । “स्वास्थ्य सेवालाई सुलभ र विश्वसनीय बनाउने विषयमा मन्त्रीज्यूले निर्देशन दिनुभएको हो,’’ उनले भने, “नीतिगत रूपमा केही सुधार गर्नुपर्ने पक्षमा छलफल भएको हो, अन्य कुनै विशेष निर्णय भएको छैन ।’’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।