विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू परम्परागत सत्ताको खेल र भागवण्डाको राजनीतिबाट टाढा रहने उद्घोष गर्नुभएको छ । नयाँ पुस्ता (जेन्-जी) र राष्ट्रका नाममा एक विशेष सम्बोधन गर्दै उहाँले आफूलाई पुराना नेताहरूको भीडभन्दा फरक प्रमाणित गरेर छाड्ने संकल्प व्यक्त गर्नुभएको हो ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले देशको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, “म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु ।”
आफूलाई एक नेताका रूपमा मात्र नभई योद्धा र छोराछोरी गुमाएको पिताका रूपमा प्रस्तुत गर्दै उहाँले आफ्नो व्यक्तिगत जीवनका पीडा र त्यागलाई देशको परिवर्तनसँग जोड्नुभयो। आफ्नो परिवारका सदस्य र हजारौँ सहयोद्धाको बलिदान स्मरण गर्दै उहाँले भन्नुभयो, “म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाउनु पर्यो। एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ। तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन, यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो ।”
अध्यक्ष प्रचण्डले वर्तमान संसदीय प्रणालीको कमजोरी औंल्याउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डालाई पुनः जोड दिनुभयो । “यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ,” उहाँले भन्नुभयो, “मेरो माग र युवाहरूको माग एउटै हो— राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ।”
नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्दै उहाँले हलिउडको एक चर्चित संवाद उद्धृत गर्दै आफ्नो राजनीतिक यात्राको भविष्यबारे भन्नुभयो, “या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू। म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन ।”
युवाहरूलाई सामाजिक सञ्जालको भ्रममा नपर्न र स्वतन्त्र चिन्तन गर्न आग्रह गर्दै उहाँले प्रश्न सोध्न र आफूलाई दबाब दिन समेत आह्वान गर्नुभयो। नयाँ नेतृत्वको परीक्षण गर्ने समय मुलुकसँग अब नभएको तर्क गर्दै उहाँले भन्नुभयो, “हामीसँग अब अर्को २० वर्ष परीक्षण र त्रुटि (Trial and Error) गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन ।”
सम्बोधनको अन्त्यमा उहाँले शहीदहरूप्रति नमन गर्दै कुनै पनि नेपाली युवाले भविष्य खोज्न विदेशिनु नपर्ने वातावरण निर्माणका लागि एकजुट हुन अपिल गर्नुभयो । प्रचण्डको यो सम्बोधनले उहाँले आफ्नो बाँकी राजनीतिक जीवन सत्ताको लेनदेनभन्दा माथि उठेर प्रणाली परिवर्तन र युवा केन्द्रित राजनीतिमा खर्चिने स्पष्ट संकेत गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।