विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा लागुऔषध विरुद्धको कारबाहीलाई तीव्रता दिँदै प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको साथबाट ब्राउन सुगर (खैरो हिरोइन) र ठूलो परिमाणमा प्रतिबन्धित औषधी बरामद गरिएको छ ।
झापा जिल्लाको भद्रपुर नगरपालिका–४ बाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले स्थानीय भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बुद्धशान्ति गाउँपालिका–३ का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यता मोरङ जिल्लामा पनि प्रहरीले चेकजाँचका क्रममा दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ–३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका–८ का इन्द्रराज घिमिरेलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, सुनसरीको धरानमा प्रतिबन्धित औषधीको कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–१६ का राम तामाङ र संगे शेर्पा २२० ट्याब्लेट प्रतिबन्धित औषधीसहित पक्राउ परेका हुन् । सोही क्रममा धरान–१२ का विनय राई र धरान–१९ का रुविन राईलाई ३७० ट्याब्लेट प्रतिबन्धित औषधीसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।