विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले राज्यले उद्योगी व्यवसायीहरूको सुरक्षा गर्न नसकेको र सीमा क्षेत्रमा तस्करी नियन्त्रण हुन नसकेको भन्दै सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।
विराटनगरको रत्ना होटलमा सम्पन्न परिसंघको पाँचौँ वार्षिक साधारणसभामा उद्योगीहरूले राज्यको कमजोरीका कारण व्यवसाय गर्ने वातावरण बिग्रँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले उद्योगी व्यवसायीहरूलाई बिना कारण विभिन्न आक्षेप लगाउने गरिएको भन्दै दुःख व्यक्त गरे । उनले राज्यले उद्योगीहरूको भौतिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति दिन नसकेको र बढ्दो तस्करीका कारण स्वदेशी उद्योगहरू धराशायी बनेको बताए । अध्यक्ष सारडाले भने, ‘राज्यले न उद्योगीको सुरक्षा गर्न सकेको छ, न त तस्करी नै नियन्त्रण गर्न सकेको छ । यस्तो अवस्थामा उद्योग सञ्चालन गर्न चुनौतीपूर्ण बनेको छ ।’ सारडाले सुरक्षा निकायलाई तस्करी नियन्त्रण र औद्योगिक सुरक्षामा विशेष ध्यान दिन आग्रह समेत गरे ।
सोही अवसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई परिसंघको तर्फबाट सम्मान गरिएको थियो ।
उद्योगीहरूको गुनासो सम्बोधन गर्दै डीआईजी घिमिरेले उद्योगी व्यवसायीहरू देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । उनले औद्योगिक सुरक्षाका लागि प्रहरी सदैव तत्पर रहने प्रतिबद्धता जनाउँदै संक्रमणकालीन समयमा केही चुनौती देखिए पनि अन्ततः कानुनकै शासन स्थापित हुने स्पष्ट पारे ।
साधारणसभामा परिसंघका केन्द्रीय गभर्निङ काउन्सिल मेम्बर बासुदेव गोल्यानले कोशी प्रदेश समितिले उद्योगीको हकहितमा उदाहरणीय काम गरेको बताए । कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटका लागि सुझाव समेत संकलन गरिएको थियो । उद्योगीहरूले राजनीतिक आडमा अवैध रूपमा असुल गरिने कवाडी कर, मूल्य अभिवृद्धि कर, र भन्सार दरमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सुनसरीका अध्यक्ष अनिल अग्रवाललगायतको उपस्थिति रहेको उक्त साधारणसभाले कोषाध्यक्ष साकेत राठीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र संस्थाको वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको छ । अध्यक्ष पवन कुमार सारडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन र व्यवस्थापन महानिर्देशक विजय हरि शर्माले गरेका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।