लोड हुँदैछ...

मेनु

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी एवं हिमाली भागमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ । कोशी प्रदेशलगायत अन्य हिमाली भागमा आंशिक बदली रहे पनि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने देखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ । तराईका केही स्थानमा भने रातिको समयमा पनि हुस्सु लाग्ने सम्भावना छ ।

देशका तराई भूभागमा कुहिरो र हुस्सुको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ । चिसो र कुहिरोका कारण हुन सक्ने असुविधाबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण एवं सरोकारवाला निकायसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds