विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लङ्घन गर्ने २१ वटा राजनीतिक दल, उम्मेदवार तथा संस्थाहरूलाई स्पष्टीकरण सोधेको छ।
माघ ४ गते राति १२ बजेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका क्रममा आयोगले हालसम्म प्राप्त उजुरी र जानकारीका आधारमा सो स्पष्टीकरण माग गरेको हो । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सोधिएका २१ वटा स्पष्टीकरणमध्ये हालसम्म ५ वटाको मात्र जवाफ प्राप्त भएको छ भने बाँकीलाई जवाफका लागि ताकेता गरिएको छ ।
आयोगले निर्वाचनलाई प्रभाव पार्ने गरी मिथ्या, भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिनेहरूमाथि पनि कडा निगरानी गरिरहेको जनाएको छ । निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रले हालसम्म ३०२ वटा हानिकारक सूचनाहरू पहिचान गरेको छ । ती सामग्रीहरूलाई निर्वाचन आचारसंहिता, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जानकारी दिएको छ।
यस्तै निर्वाचन खर्चलाई पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता अनिवार्य गरेको छ। यसका लागि नेपाल राष्ट्र बैंकमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र भइसकेको छ।
आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन आयोगले ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिक बाहेकका विषय हेर्ने गरी र प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकहरूलाई आर्थिक विषय हेर्ने गरी अनुगमन अधिकृत तोकेको छ।
निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठ्ने गरी कुनै पनि गतिविधि भएमा लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन आयोगले आम नागरिक, मतदाता र सरोकारवालाहरूलाई अनुरोध गरेको छ। आयोगले आचारसंहिता पालनामा अग्रसरता देखाउने सरकारी निकाय, सञ्चारकर्मी र मतदाताहरूलाई धन्यवाद दिँदै बाँकी अवधिमा पनि पूर्ण पालना गर्न ध्यानाकर्षण गराएको छ।
‘स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन नै लोकतन्त्रको आधार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि आचारसंहिताको पूर्ण पालना अनिवार्य छ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।