उदयपुर । उदयपुरको कटारीमा किसानका लागि आएको अनुदानको युरिया मल कालोबजारी हुँदै सिन्धुलीको दुधौलीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले निण्न्त्रणमा लिएको छ ।
प्रहरीले २०० बोरा भन्दा बढी रासायनिक मल बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार पेशल भट्टराई र हिरा बास्तोलाको सञ्चालनमा रहेको दुर्गा भवानी सहकारी संस्थाले कटारीका किसानका लागि आएको अनुदानको युरिया मल दुधौलीका एक व्यापारीलाई पठाइरहेको सूचना आएको थियो । उनका अनुसार किसान संघर्ष समितिका संयोजक गणेश थापालगायतको टोलीले मल फेला पारी प्रहरीको जिम्मा लगाएको हो।
समितिको पहलमा मल र घटनामा संलग्न व्यक्तिहरूलाई दुधौली प्रहरीको जिम्मा लगाइएको नगरप्रमुख श्रेष्ठले बताए। किसानहरूले मलको चरम अभाव झेलिरहेका बेला सहकारीले नै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाउनु गैरकानुनी कार्य भएको किसान संघर्ष समितिको भनाइ छ।
समितिले घटनामा संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेको छ। समिति संयोजक थापाले मल वितरण प्रक्रियामा कमिसन, कालोबजारी र कृत्रिम अभाव सिर्जना भइरहेको आरोप लगाए।
कटारी नगरपालिकाकी उपप्रमुख गीता खड्काको संयोजकत्वमा मल बिक्रीका लागि सहकारी संस्थाहरूलाई सिफारिस गर्ने समिति गठन गरिएको भएपनि सो समिति र कृषि शाखाको सिफारिसमा आउने मलमै कालोबजारी हुने गरेको किसानहरूको गुनासो छ। घटनापछि कटारी नगर उपप्रमुख तथा स्थानीय मल वितरण व्यवस्थापन समिति संयोजक खड्काको अध्यक्षतामा बसेको बैठकले दुर्गा भवानी कृषि सहकारी संस्थाले गरेको मल बिक्री सम्बन्धी प्रमाणपत्र खारेजीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ।
कटारी नगरपालिकाभित्र रहेका मल विक्रेताका गोदाममा संयुक्त अनुगमन गर्ने निर्णयसमेत गरिएको छ। घटनाबारे दुधौली प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।