धनकुटा । कोशी लोकमार्गस्थित धनकुटाकोे छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका १, को सीमामा पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् ।
तेह्रथुमबाट धरानतर्फ जाँदैगरेको को। १ ख। ५१०५ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो । तेह्रथुमको लालीगुँरास नगरपालिका–२, बस्ने ५३ वर्षीय रेवान्तकुमार कामी, सोही स्थानका २३ वर्षीय रबिन लिम्बू, २२ वर्षीय राक लिम्बू, धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीय मुना रुचाल, सोही ठाउँ बस्ने बालक निक्खि रुचाल र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
बसमा १५ जना सवार रहेकोमा छ जना घाइते भएको जानकारी दिए । प्रहरीचौकी हिलेबाट खटिएको प्रहरी नायब निरीक्षक चिरन्जिवी खड्काको कमान्डमा प्रहरी टोली खटिइएको र घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य क्लिनिकमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूको अवस्था सामान्य रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।