लोड हुँदैछ...

मेनु

विर्तामोड क्षेत्रमा चोरी आतंक: सुरक्षा व्यवस्थाप्रति स्थानीय त्रसित

विर्तामोड क्षेत्रमा चोरी आतंक: सुरक्षा व्यवस्थाप्रति स्थानीय त्रसित

झापा । झापाको व्यापारिक केन्द्र विर्तामोड र आसपासका क्षेत्रमा पछिल्लो समय चोरीका घटना ह्वात्तै बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । प्रहरी प्रशासनको ध्यान आसन्न निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको मौका छोपी अज्ञात समूहले श्रृंखलावद्ध रुपमा चोरी गर्न थालेपछि यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको हो ।

विशेष गरी घरमा कोही नभएको समय पारेर ताल्चा फुटाउने र घरभित्रै प्रवेश गरेर नगद तथा गरगहना लुट्ने ‘चोरी आतंक’ले सर्वसाधारणमा असुरक्षाको भावना पैदा गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै झापाको विर्तामोड र अर्जुनधारामा दुई छुट्टाछुट्टै स्थानमा चोरी हुँदा करिब २७ लाख रुपियाँ बराबरको धनमाल लुटिएको छ ।

बिहीबार राति विर्तामोड नगरपालिका–१, पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको घरलाई चोरले निशाना बनाएका छन् । दुई तले पक्की घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको धनमाल चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घरबाट ६ तोला सुनका गरगहना, १२ तोला चाँदीका गरगहना र नगद २० हजार रुपियाँ गरी करिब १९ लाख रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।

त्यसैगरी, अर्जुनधारा नगरपालिका–९, कालीस्थान सिरानमा पनि चोरीको अर्को प्रकृति देखिएको छ । स्थानीय नारद पोख्रेलको घरमा दुई जना अपरिचित व्यक्ति नै प्रवेश गरी लुटपाट गरेका छन् । चोरले पोख्रेलको घरबाट २ तोला सुनका गरगहना, ३ तोला चाँदीका गरगहना, नगद ५५ हजार रुपियाँ र भिभो कम्पनीको एक थान मोबाइल फोन चोरी गरेका छन् । यस घटनामा करिब ८ लाख रुपियाँ बराबरको क्षति भएको पीडित पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रहरीको उपस्थिति निर्वाचन केन्द्रित अभियानमा बढी देखिए पनि बस्ती स्तरमा गस्ती र निगरानी कम हुँदा चोरको मनोबल बढेको स्थानीयको भनाइ छ । “घर छोडेर कतै जानै नसकिने अवस्था आयो, प्रहरीको सक्रियता कम हुँदा हामी असुरक्षित भयौँ,” एक स्थानीयले गुनासो गरे ।

यता, चोरीका घटना बढेपछि प्रहरीले अनुसन्धानलाई तीव्र पारेको दाबी गरेको छ । प्रवक्ता खड्काले चोरी भएका स्थानको स्थलगत निरीक्षण गरी घटनाको विषयमा बुझ्ने र आवश्यक जानकारी लिने काम भइरहेको बताउनुभयो । अज्ञात समूहको खोजी कार्य र सुरक्षा निगरानी बढाउन प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निर्वाचनको मुखमा आर्थिक कारोबार र सुरक्षा संवेदनशीलता बढ्ने भए पनि श्रृंखलावद्ध चोरीले विर्तामोड क्षेत्रका बासिन्दा भने यतिबेला चिन्तित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।