लोड हुँदैछ...

मेनु

मोरङमा जिल्ला स्तरीय वादविवाद र ‘खेलाडी सम्मान’ कार्यक्रम हुने, प्रथम पुरस्कार ५१ हजार

मोरङमा जिल्ला स्तरीय वादविवाद र ‘खेलाडी सम्मान’ कार्यक्रम हुने, प्रथम पुरस्कार ५१ हजार

विराटनगर । चुडामणि स्मृति प्रतिष्ठानको आयोजनामा आगामी माघ १६ गते शुक्रबार मोरङमा जिल्ला स्तरीय वादविवाद प्रतियोगिताको पाँचौँ संस्करण तथा ‘खेलाडी सम्मान’ कार्यक्रम आयोजना हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले प्रतियोगिता र सम्मान कार्यक्रमबारे जानकारी दिएको हो।

सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित प्रतिष्ठानले युवा तथा विद्यार्थीको बौद्धिक क्षमता, सिर्जनात्मकता र व्यक्तित्व विकासका लागि यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको जनाएको छ। यस वर्षको वादविवाद प्रतियोगिताको विषय ‘कृत्रिम बुद्धिमत्ता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई नियन्त्रण गर्छ ’ तय गरिएको छ। प्रतियोगितामा मोरङ जिल्लाभरका माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने प्रतिष्ठानकी महासचिव रीता न्यौपानेले जानकारी दिइन्।

प्रतियोगितामा पक्ष र विपक्ष दुवैतर्फ उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूले क्रमशः नगद ५१ हजार, ३१ हजार र २१ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि चर्चित लेखक सुविन भट्टराई, प्राध्यापक सरोज घिमिरे र भेषजा काफ्ले सम्मिलित निर्णायक मण्डल गठन गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा भागवत वाचिका राधिका दासीको विशेष उपस्थिति रहनेछ। कार्यक्रम बुढीगंगा–३ स्थित स्मृति इङ्लिस स्कुलको प्राङ्गणमा आयोजना हुनेछ।
सोही अवसरमा खेलकुद क्षेत्रमार्फत जिल्ला र राष्ट्रको नाम राख्ने खेलाडीहरूलाई ‘खेलाडी सम्मान’ बाट सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ। यसबाट भावी पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने लक्ष्य लिइएको छ।

महासचिव न्यौपानेका अनुसार प्रतियोगिताका लागि हालसम्म ३१ वटा विद्यालयले नाम दर्ता गराइसकेका छन् भने ८ वटाले सहभागिताको प्रतिबद्धता जनाएका छन्। दर्ता भएकामध्ये १० वटा सरकारी र २१ वटा संस्थागत विद्यालय रहेका छन्।
महासचिव न्यौपानेले सरकारी विद्यालयको सहभागिता न्यून रहेकोमा दुःख व्यक्त गरिन्। “हामी ४५० वटा विद्यालयमा पुग्यौँ, पालिकाका शिक्षा शाखासँग समन्वय गर्‍यौँ। तर, सरकारी स्कुलबाट ‘बोल्न सक्ने विद्यार्थी तयार पार्न सकिएन’ भन्ने जवाफ आउँदा पीडा हुन्छ,” उनले भनिन्, “हामी सरकारी स्कुलकै उत्पादन भएकाले पनि यस्तो उत्तरको अपेक्षा गर्दैनौँ।”

यस कार्यक्रमलाई विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, रंगेली, सुनवर्षी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिकाले सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।