विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रीमा गएको पुस २२ गते नियुक्त भएका काँग्रेसका मानबहादुर लिम्बूले ८ औं दिनमै कानून नै सचिवको अधिकार क्षेत्रको काम आफैं गरेको पाइएको छ । उनले आफू मन्त्री नियुक्त हुनुभन्दा पहिले सचिवस्तरीय निर्णयबाट सरुवा भएका ६ जना कर्मचारीको सरुवा बदर गर्दै आफैंले साविक बमोजिम नै कायम गरेका हुन् ।
कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णयबाट मंसिर १७ गते विभिन्न अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा कार्यरत ३९ जना कर्मचारीहरूको सरुवा गरेको थियो ।
जसमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुमा कार्यरत वैद्य निरीक्षक (छैटौँ) पदका केशव ढुंगानालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ओखलढुङ्गामा सरुवा गरिएको थियो । मन्त्री लिम्बूले उक्त निर्णय बदर गर्दै सोलुखुम्बु आयुर्वेद स्वास्थ्य केन्द्रमै कायम गरेका छन् ।
यस्तै जिल्ला अस्पताल, सुनसरीमा सहायक अधिकृत (छैटौँ) पदमा कार्यरत राजकुमार मेहतालाई स्वास्थ्य कार्यालय, धनकुटामा सरुवा गरिएको थियो । उनलाई पनि सरुवा बदर गर्दै जिल्ला अस्पताल सुनसरीमै कायम गरिएको छ ।
उता, स्वास्थ्य कार्यालय, धनकुटामा सहायक अधिकृत (छैटौँ) पदमा कार्यरत नारायणप्रसाद खनाललाई स्वास्थ्य कार्यालय, उदयपुरमा पठाइएको थियो । खनाललाई पनि मन्त्री लिम्बूले धनकुटामै कायम गरेका छन् । यस्तै जिल्ला अस्पताल, उदयपुरमा मेडिकल रेकर्डर सुपरभाइजर पदमा कार्यरत सुरेश कुमार पाण्डेलाई जिल्ला अस्पताल, भोजपुरमा खटाइएको थियो । तर, उनलाई सो स्थानबाट डेढ महिनै नपुगी जिल्ला स्वास्थ्य कार्यालय धनकुटा पठाउने लिम्बूको निर्णय छ ।
उता, स्वास्थ्य कार्यालय, धनकुटामा ल्याब टेक्निसियन निरीक्षक (छैटौँ) पदमा कार्यरत विनोद गुरागाईंलाई स्वास्थ्य कार्यालय, सोलुखुम्बुमा सरुवा गरिएको थियो । मन्त्री लिम्बूले भने सोलुखुम्बुबाट डेढ महिनामै पुनः काज सरुवा गर्दै धनकुटा जिल्ला अस्पताल ल्याइएको छ ।
यस्तै स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत नायब गणेशप्रसाद भट्टराईलाई यसअघि जिल्ला स्वास्थ्य कार्यालय सुनसरी पठाइएको थियो । मन्त्री लिम्बूले उनलाई पनि पुनः उदयपुरमै कायम गरिदिएका छन् ।
पुस ३० गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार सरुवा बदर गरिएको भन्दै ६ जना कर्मचारीलाई मन्त्रालयले माघ २ गते पत्र थमाएको छ । ‘प्रस्तुत विषयमा यस मन्त्रालयको मिति २०८२/८/ २५ गते (सचिवस्तर) को निर्णयानुसार भएको सरुवा यस मन्त्रालयको मिति २०८२/९/३० गते (मा. मन्त्रीस्तर) को निर्णयानुसार रद्द गरी साविक बमोजिम नै यथावत कायम राखिएको व्यहोरा अनुरोध छ,’ सो पत्रमा उल्लेख छ ।
लिम्बू मन्त्रीमा नियुक्त हुनु अगाडि सो मन्त्रालयको मन्त्री काँग्रेसकै भुपेन्द्र राई थिए । मन्त्री राईकै जोडबलमा लामो समयदेखि एकै ठाउँमा कार्यरत रहेका मन्त्रालय मातहतका दर्जनौं कर्मचारीको सरुवा गरिएको थियो । त्यतिबेलै कर्मचारी संगठनका नेता, राजनीतिक दलका नेता तथा सांसद र मुख्यमन्त्री कार्यालयले समेत सरुवा रोक्न दबाब दिएको थियो । यद्यपि सचिवस्तरीय निर्णयबाट गरिएको सरुवा प्रदेशका प्रमुख सचिवले मात्रै बदर गर्न सक्छन् । तर, मन्त्रीबाट भुपेन्द्र राई हटेर नयाँ मन्त्री नियुक्ति हुने वित्तिकै सो निर्णय बदर गराउन ती कर्मचारीहरु लागेका थिए ।
प्रदेश स्तरका काँग्रेस र एमालेका नेता तथा मुख्यमन्त्री कार्यालयको ढोका चाहारिरहेका कर्मचारीहरुले दबाब बढाउँदै लगेपछि मन्त्री लिम्बू ‘सरकार ढल्ने अवस्था आयो । यो कसैगरी बदर गराउनु पर्यो’ भन्दै स्वास्थ्य मन्त्रालयका सचिव डा.यदुचन्द्र घिमिरेलाई दबाब दिएका थिए । सचिव घिमिरेले भने सरुवाको निर्णय बदर गर्ने कानूनी व्यवस्था नभएको र आफूले उक्त निर्णय सच्याउन नसक्ने भन्दै विदा लिएर काठमाडौं लागेका थिए । सचिव विदामा बसेपछि थप दबाबमा परेका लिम्बूले तल्लो तहका कर्मचारी अधिकारीलाई टिप्पणी उठाएर ल्याउन दबाब दिएका थिए । कर्मचारीले पनि ‘मन्त्रीको मौखिक निर्देशानुसार’ भन्दै टिप्पणी उठाएर सरुवाको निर्णयमा मन्त्रीलाई नै हस्ताक्षर गराएको स्रोतको दाबी छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा एउटै लटमा सरुवा भएका विजयकुमार झाले सामाजिक सञ्जाल फेसबुकमा मन्त्रीले सरुवा बदर गराएको विषयमा केही दिन अगाडि पत्रै सार्वजनिक गरेका थिए । यद्यपि मन्त्रीको सचिवालयले दबाब दिएका कारण उनले अहिले भने सो पत्र हटाएका छन् ।
सचिव घिमिरेले आफूले गरेको निर्णय बदर गरेको आफूलाई थाहा भएपनि त्यो कानून अनुसार हो होइन भन्ने कुरा आफूले हेर्न नपाएको बताए । ‘निर्णय हुँदा म विदामा काठमाडौंमा थिएँ । किन यस्तो गरेको हो मलाई थाहा छैन,’ सचिव डा.घिमिरेले भने, ‘यो कानून अनुसार हो कि होइन भन्ने विषयमा म अनविज्ञ छु ।’
उता, मन्त्री मानबहादुर लिम्बूले भने मुख्यमन्त्री कार्यालयले आफूलाई नसोधी कर्मचारी सरुवा गरेको थाहा पाएपछि आफूले रोकेको बताए । ‘मन्त्रालयमा धेरै बेथिति रहेछ । त्यो बेथिति कम गर्नका लागि मैले सरुवा रोकेको हो । मुख्य सचिव राजेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयको कर्मचारी मुख्यमन्त्री कार्यालय बोलाई बोलाई सरुवाको चिठि दिइरहेको छ । बरु त्यो सोध्नु न,’ मन्त्री लिम्बूले भने, ‘कसैको एक वर्ष नै नपुगि सरुवा गरेको छ । लथालिङ्ग र जथाभावी पाराले सरुवा गरेको रहेछ । अन्यायमा परेकाहरूलाई हामीले बदर गरेका हौं । कर्मचारीले मनपरी गरेका रहेछन् सबैको पर्दाफास हुन्छ । यिनिहरुले रिस उठाए कि अब थाहा हुन्छ ।’




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।