लोड हुँदैछ...

मेनु

परस्त्रीसँग पक्राउ परेका राईलाई श्रम संस्कृति पार्टीले कारबाही गर्ने

परस्त्रीसँग पक्राउ परेका राईलाई श्रम संस्कृति पार्टीले कारबाही गर्ने

विराटनगर । परस्त्रीसँग पक्राउ परेका श्रम संस्कृति पार्टीका भोजपुर जिल्ला सचिव भीम राईलाई पार्टीले कारबाही गर्ने भएको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै घटनाबारे जानकारी लिइसकेको र राईलाई सम्पर्क गरेर आवश्यक कारबाही गरिने बताएका छन्।

अध्यक्ष साम्पाङले घटनालाई व्यक्तिगत गल्तीको रूपमा व्याख्या गर्दै संगठनको कुनै निर्देशन वा नीतिसँग यसको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। पार्टीको नाम र मर्यादामा आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने संकेत गर्दै उनले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो काम हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

भीम राई दुई दिनअघि एक विवाहित महिलासहित भोजपुरको दिङ्ला क्षेत्रमा शंकास्पद अवस्थामा पक्राउ परेका थिए। महिलाका आफन्तले उनीहरूलाई देउराली प्रहरी चौकीमा बुझाएपछि इलाका प्रहरी कार्यालय दिङ्लाको हिरासतमा एक रात राखिएको थियो।

प्रहरीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । राई स्वयं पनि विवाहित व्यक्ति हुन्। भोजपुर नगरपालिका–१० का स्थायी बासिन्दा राई २२ वर्षीया महिलासँग पुरानै चिनजान रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय दिङ्लाका इन्स्पेक्टर नवराज खड्काका अनुसार दुबैजनालाई एक रात हिरासतमा राखेर परिवार तथा आफन्तको जिम्मा लगाइएको छ । प्रहरी कार्यालय बाहिर भएको छलफलका क्रममा राईले ती महिलालाई “कान्छी श्रीमती” को रूपमा स्वीकार गरेको बताएपछि महिलाका आफन्तले थप विवाद नगरी छाडिदिएको बताइएको छ।

घटनापछि यो विषय सामाजिक सञ्जाल र स्थानीयस्तरमा व्यापक रूपमा चर्चा भएपछि पार्टी नेतृत्वसमेत दबाबमा परेको देखिएको छ। श्रम संस्कृति पार्टीले यस घटनालाई गम्भीर रूपमा लिँदै आन्तरिक छलफलपछि पार्टी विधानअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।