काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनाहरूमा परी ७ जना घाइते भएका छन् भने करिब २५ लाख ३० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
विपद्का घटनाहरूमध्ये सबैभन्दा धेरै आगलागीका घटना रहेका छन्। देशभर १६ वटा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ। हिउँदको समयमा हुने सुख्खा र मानवीय असावधानीका कारण आगलागीका घटनामा वृद्धि भएको हो। परालको कुन्युमा आगो लाग्नु, हावाहुरीले आगो उडाउनु र आगो ताप्ने क्रममा असावधानी अपनाउँदा आगलागी फैलिएर जनधनको क्षति भएको पाइएको छ।
प्राधिकरणको विवरण अनुसार मोरङमा दुई तथा सुनसरी, भोजपुर, सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा, रामेछाप, मकवानपुर, काठमाडौँ, पाल्पा, प्यूठान र कैलालीमा एकरएक वटा आगलागीका घटना भएका छन्।
यसैगरी, हिमाली तथा उच्च पहाडी जिल्लाहरू बाग्लुङ, रुकुम पूर्व, हुम्ला, बझाङ र बैतडीमा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। चिसो र हिमपातले गर्दा ती क्षेत्रका बासिन्दाको दैनिक कामकाजमा कठिनाइ उत्पन्न भएको छ।
अर्कातर्फ, सप्तरी, कपिलवस्तु र डोटीमा जंगली जनावरको आक्रमणका घटना समेत घटेका छन्। हिउँदको समयमा आगलागी र अन्य विपद्को जोखिम उच्च रहने भन्दै प्राधिकरणले थप सावधानी अपनाउन र सतर्क रहन सबैमा आग्रह गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।