काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाएका छन्। पार्टी नेतृत्वको कार्यशैलीलाई अधिनायकवादी संज्ञा दिँदै उनले यस्तै अवस्था रहे पार्टी एकीकरण प्रक्रिया टुङ्गिनुअघि नै फुट्ने चेतावनी दिएका हुन्।
आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन्। उनले नेतृत्वको यस्तो शैलीले पार्टीलाई विशृङ्खलता तिर लैजाने र एकता जोगाउन कठिन हुने उल्लेख गरेका छन्।
‘पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत छ,’ खनालले भनेका छन्। उनले पार्टी एकताको लामो समय बित्दा पनि संस्थागत निर्णय प्रक्रिया विकास हुन नसकेको र एकाध व्यक्तिको चाहनामा ठूला निर्णय हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन पार्टी संयोजक पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ सँग जोडदार माग गरेका छन्। उनले लेखेका छन्, ‘यदि यो पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस्ता कदम अविलम्ब स्थगित गरियोस् र सामूहिक नेतृत्व प्रणाली स्थापित गरियोस्।
आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा कम्युनिस्टहरूबीच बलियो एकता आवश्यक रहेका बेला नेतृत्वको स्वेच्छाचारी कार्यशैलीले गम्भीर संकट निम्त्याएको खनालको निष्कर्ष छ। उनले पार्टीभित्र गम्भीर र दोहोरो छलफलमार्फत यस घटनाको समीक्षा गर्न समेत आग्रह गरेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।