काठमाडौँ ।नेपालमा हाल न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ, जसका कारण देशका विभिन्न भागको मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्ने देखिन्छ । विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । साथै, अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा पनि हल्का हिमपात र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
तराई क्षेत्रको हकमा भने पूर्वी र मध्य भूभागका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने सम्भावना छ, जसले गर्दा जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ ।
यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहने महाशाखाको पूर्वानुमान छ ।
चिसो बढ्ने र हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।