लोड हुँदैछ...

मेनु

विराटनगर क्रिकेट लिगको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीलाई

विराटनगर क्रिकेट लिगको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सम्पन्न विराटनगर क्रिकेट लिगको उपाधि विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले जितेको छ।

शनिबार भएको फाइनल खेलमा विराटनगरले सिद्धार्थ स्पोर्टिङ क्लबलाई २ रनले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै विराटनगरले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेता सिद्धार्थ स्पोर्टिङ क्लबले नगद १० हजार रुपैयाँ र ट्रफी पाएको छ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३८ रनको योगफल तयार पारेको थियो। विराटनगरका लागि सुजन थपलियाले ४७ बलमा ५ छक्का र ६ चौका प्रहार गर्दै सर्वाधिक ७२ रन जोडे। कमलदेव चौधरीले १९ रन र कृष शर्माले १५ रनको योगदान दिए। सिद्धार्थका श्रवण किस्कुले २ विकेट लिए भने दिपेश कँडेल र निरज मुखियाले १–१ विकेट हात पारे।

१३९ रनको लक्ष्य पछ्याएको सिद्धार्थ स्पोर्टिङ क्लबले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो। सिद्धार्थका रविन मण्डलले ४८ रन र अनिल लामिछानेले ३६ रनको योगदान दिए। विराटनगरका कृष शर्माले ४ विकेट लिँदा रितेश झाले ३ विकेट तथा प्रसान्त साहले २ विकेट लिए। फाइनल खेलको प्लेयर अफ द फाइनल विराटनगरका कृष शर्मा घोषित भए।

प्रतियोगिताको उत्कृष्ट ब्याटर लायन्स क्लबका सकिव हक घोषित भए भने उत्कृष्ट बलर सिद्धार्थ स्पोर्टिङ क्लबका दिपेश कँडेल बने। प्लेयर अफ द टुर्नामेन्टको उपाधि सिद्धार्थका फिर्दोस अन्सारीले जिते।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ क्रिकेट संघका अध्यक्ष महमद वावु कुरेसी तथा नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठलगायतले नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।