काठमाडौं । आइसिसी वुमन्स टी–२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणमा नेपालले पहिलो जित दर्ता गराएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले समूह ‘बी’ मा जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो। यो जित नेपाली महिला क्रिकेट टोलीले टेस्ट टोलीविरूद्ध हात पारेको पहिलो जित हो। यसअघि नेपालले कहिल्यै टेस्ट टोलीलाई हराउन सकेको छैन।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावेले ६ विकेटको क्षतिमा १२९ रन जोड्न सक्यो। जिम्बावेका लागि केलिस न्ध्लोभुले नटआउट ५२ रन जोडिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।
बलिङमा नेपालकी रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले १–१ विकेट लिए। १३० रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छदा पूरा गर्यो ।
नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरिन्। विन्दू रावलले १५ रन र इन्दू बर्माले २२ रन बनाए। सीता रानामगर ११ रनमा रिटार्यड हर्ट भएकी थिइन्।
आजको जितसँगै नेपालले सुपर–६ को सम्भावना जीवित राखेको छ। अब नेपालले अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ। सो खेलमा फराकिलो अन्तरको जित निकाल्न सके नेपाल समूहमा शीर्ष तीन परेर सुपर–६ मा पुग्न सक्नेछ। यसअघि नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो। अब नेपाल र स्कटल्यान्डबीच सोमबार विहान खेल हुनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।