विराटनगर । विराटनगर–१० स्थित मार्टस मेमोरियल स्कुलले सरस्वती पूजाको पावन अवसरमा आयोजना गरेको अन्तर–भजन कीर्तन प्रतियोगितामा पारिजात भजन समूहले प्रथम स्थान हासिल गरेको छ । कुल १६ वटा प्रतिस्पर्धी समूहलाई पछि पार्दै पारिजातले उपाधिसहित नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको हो ।
प्रतियोगितामा उदयतारा भजन मण्डली द्वितीय हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र हात पार्न सफल भयो । यस्तै, निर्मल टोल भजन समूह तृतीय बन्दै नगद १० हजार रुपैयाँ र शान्ति भजन मण्डलीले सान्त्वना पुरस्कारस्वरूप नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । सहभागी अन्य सबै भजन समूहलाई पनि प्रोत्साहनस्वरूप नगद १ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
कवि तथा पत्रकार मीनकुमार नवोदितको संयोजकत्वमा गठित निर्णायक समितिमा झापाका भजन संगीतकार विनोद खतिवडा र दिनेश खरेल रहेका थिए । समितिले शब्द चयन, स्वर, ताल, लय, भाव, प्रस्तुति, भेषभूषा र समयपालनलगायतका आधारमा मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको संयोजक नवोदितले जानकारी दिए ।
विद्यालयका प्राचार्य विजय डागीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरी मुख्य अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले यस्ता प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक चेतना विस्तारमा उल्लेखनीय योगदान पुर्याउने बताए । उनले स्थानीय तहले भजन समूहहरूलाई वाद्यवादन सामग्री वितरण गर्दै आएको जानकारी दिँदै यस्ता गतिविधिले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने धारणा राखे ।
विद्यालयका संस्थापक सीएम श्रेष्ठले बालबालिकामा सनातन धर्मप्रति आस्था र रुचि जागृत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझै वृहत्तर र व्यवस्थित बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
त्यस्तै, प्याब्सन विराटनगरका पूर्वअध्यक्ष इन्द्र राईले धार्मिक–सांस्कृतिक प्रतियोगिताले बालबालिकालाई आध्यात्मिक चेतना दिँदै सत्मार्गतर्फ प्रेरित गर्ने उल्लेख गरे । निर्णायक मीनकुमार नवोदितले पाश्चात्य संस्कृतिको बढ्दो प्रभावका बीच मौलिक पहिचान जोगाउन यस्ता कार्यक्रम अपरिहार्य रहेको बताए ।
कार्यक्रममा विद्यालयका कोअर्डिनेटर नारायण स्वर्णकार, समाजसेवी खेम तिम्सिना, वीरेन्द्र थापा लगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । प्राचार्य डागीले अभिभावक, शिक्षक र विद्यार्थीको सहकार्यले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिए ।
यसैबीच, विद्यालयका संस्थापक श्रेष्ठले शैक्षिक गुणस्तरकै कारण यस वर्ष प्ले ग्रुपमा मात्र ८७ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिए । उनले आगामी दुई–तीन वर्षभित्र मार्टस मेमोरियललाई विराटनगरकै नमुना विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्य रहेको दाबी समेत गरे ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।