लोड हुँदैछ...

मेनु

अर्किड स्कुलमा ७८ बालबालिकाको अक्षरारम्भ

अर्किड स्कुलमा ७८ बालबालिकाको अक्षरारम्भ

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड पब्लिक स्कुलले सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसर पारेर आज ७८ जना बालबालिकालाई अक्षरारम्भ गराएको छ । विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै विद्यालयले साना बालबालिकाहरूलाई औपचारिक शिक्षाको सुरुवात गराएको हो ।

आज आयोजित विशेष समारोहका बीच विद्यालयमा आएका नयाँ बालबालिकाहरूलाई अक्षर लेख्न सिकाएर शिक्षारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले आज अक्षरारम्भ गर्ने ७८ जना बालबालिकाहरूलाई विद्यालयले निःशुल्क भर्ना गर्ने जानकारी दिए । बालबालिकाको शैक्षिक भविष्यको कामना गर्दै अभिभावकहरूलाई प्रोत्साहन गर्न विद्यालयले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

सरस्वती पूजाकै अवसरमा विद्यालयमा अन्य सिर्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो । विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालय परिसरमा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो । जहाँ विद्यार्थीहरूले आफैँले बनाएका विभिन्न विज्ञानसँग सम्बन्धित सामग्रीहरू प्रदर्शन गरेका थिए ।

यसैगरी, बालबालिकाहरूको मनोरञ्जनका लागि फेस पेन्ट कार्यक्रम पनि गरिएको थियो । मन्दिरमा पूजाआजा र अक्षरारम्भका लागि बिहानैदेखि विद्यार्थी, शिक्षक र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । विद्यालयले यस्ता कार्यक्रमले बालबालिकामा पढ्ने रुचि र सिर्जनात्मक क्षमताको विकास हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।