लोड हुँदैछ...

मेनु

सरस्वती पूजा गरेर श्रीपञ्चमी मनाइँदै

सरस्वती पूजा गरेर श्रीपञ्चमी मनाइँदै

विराटनगर । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदै छ । वसन्त पञ्चमीको नामबाटसमेत चिनिने आजको दिन शिक्षालय र सरस्वती मन्दिरहरुमा सरस्वतीको मूर्तीमा पूजा गर्ने प्रचलन छ ।

विराटनगरको सरस्वती टोलमा रहेको सरस्वती मन्दिर तथा अन्य मठ मन्दिरहरु, शिक्षालयहरुमा बिहानैदेखि विद्यार्थीहरुको घुँइचो लागिसकेको छ । विराटनगरमा पछिल्लो समय सरस्वती पूजालाई नवयुवाहरुले महत्त्वका साथ मनाउने, विभिन्न मन्दिरहरु पुग्ने र साथीसँगीसँग भेटघाट गरी रमाइलो गर्ने गरेको पाइन्छ ।

आजको दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । आज हनुमान ढोकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री आदि उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा वसन्त श्रवण गर्ने गरिएको छ ।

सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन् । संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds